केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चर्चा र विवाद कति भए कति लेखिसाध्य छैन । तर तत्कालिन समयमा भारतीय गुप्तचर संस्था र’अका प्रमुख सामन्त गोयललाई सुटुक्क बोलाएर मध्यरातमा गोप्य कोठामा भेटेको विषय अहिले पनि उत्तिकै विवादित र रहस्यमय नै छ ।
ओली भारतपरस्त भएको आरोप लागिरहेका बेला उनको सरकार ढल्ने सुरसार थियो । ओलीसँग भारतीय नेताहरू आउने भेट्ने त सामान्य नै थियो । तर २०७७ कात्तिक पाँच गते सुटुक्क भारतीय गुप्तचर संस्थाका प्रमुख नेपाल आउँछन्, बालुवाटार छिर्छन्, र ओलीसँग गोप्य छलफल गरेर तत्कालै भारत फर्कन्छन् । घटना सबैतिर गुपचुप पार्न बालुवाटारको निर्देशन हुन्छ र सकेजति गुपचुप राखिन्छ ।
अर्कोदिन एकाएक मिडियामा समाचार आए, सामाजिक सञ्जाल ताते, चर्को आलोचना र विवाद उत्पन्न भयो, सरकारमाथि ठूलै संकट उत्पन्न भयो । त्यसपछि झारो टार्नकै लागि तत्कालिन प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार रहेका राजन भट्टराईले बाध्यताबस सार्वजनिक गरे ।
गुप्तचर संस्था र’अका प्रमुख नेपाल आएर ओलीसँग गोप्य वार्ता गरेर फर्केको घटनालाई पनि एमाले नेताहरूले सामान्य घटना भएको तर्क गर्न थालेपछि सरकारमाथि थप दवाब सिर्जना भयो । एमालेकै केहि नेताहरूले यस घटनालाई आपत्तिजनक भनेर अर्थ्याएका थिए । मध्यरातमा उनीहरूबीच के कुरा भयो ? के विषयमा छलफल भयो ? अहिलेसम्म गोप्य नै छ । सामन्त गोयल र ओलीसँग सम्झौता भएको भन्दै विभिन्न आरोप लगाउने गरिए पनि त्यस्ता आरोपको स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन ।
तर यस्ता गम्भीर विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेका नेताहरूले सामान्य तर्क गर्छन । ओलीले पनि हालै मुख खोलेका छन् । चुनावी अभियान सुरू गर्न सुदुरपस्चिम पुगेका ओलीले आफूले गोयललाई भेटेको भन्दै गर्व गरे । यो घटनालाई सामान्यीकरण गर्दै ओलीले भारतीय वा अन्य मुलुकका नेताहरू आएर आफूलाई भेट्ने गरेको भन्दै राजनीतिक भेटघाटतर्फ इंगित गरे । तर गुप्तचर संस्था र’अका प्रमुखसँग भएको भेटलाई राजनीतिक रङ्ग दिएका ओलीले मध्यरातमा सुटुक्क बोलाएर के कुरा गरे भन्ने खुलाएनन् ।
गोप्य कोठामा एउटा देशको प्रधानमन्त्री र अर्को देशको गुप्तचर संस्थाको प्रमुख बसेर गरिने राजनीतिक कुरा के हुन्छन् ? प्रोटोकल मिल्छ कि मिल्दैन ? यस्ता कुराले देशलाई कति असर पर्छ त्यो नसोची ओलीले यसलाई सामान्यीकरण गर्दै जानु झन् रहस्यमय छ ।
शुक्रबार दार्चुलाबाट चुच्चे नक्सालाई मुद्दा बनाएर चुनावी अभियानमा ओली लागेपनि गोयलसंगको भेटपछि नाटकीय रूपमा चुच्चे नक्सा छापिएको पाठ्यक्रम र पुस्तकहरू वितरणमा आफैले रोक लगाएको काण्ड झनै रहस्यमय बनेको छ । सामन्त गोयललाई बन्द कोठामा भेटेको स्वीकार गर्ने ओलीले यस्ता प्रश्नबारे बोल्नु पर्दैन ?
मतदाता सबै भेंडा हुन्, जे बोलेपनि जसरी बोलेपनि तालि ठोकीहाल्छन्, भोट दिईहाल्छन् नी होइन त ?
by himal post