काफल एक फल मात्र हैन पहाडी जीवनको संस्कृति हो। औषधि हो। पहाडी फलको राजा हो। खट्टो मिठो र रसिलो स्वाद हुने फल काँचो छदा हरियो र पाक्दै गरेको रातो अनि पाकेको फल हल्का बैजनी र कालो रंगको हुन्छ।
नेपालको पहाडी भेक, उत्तरी भारत, दक्षिणी भूटान अन्य भाषामा काफल। तेलगुमा कैदर्यमु, बंगालीमा कायफल, कट्फल, पंजाबीमा कहेला, कायफल, मलयालममा मरुता मराठीमा कायाफल अरवीमा औदुल , अजूरी पर्सियनमा -दरेशीशमकन्दु, उर्दुमा कायफल, कन्नडामा किरिशिवनि, गुजरातीमा कारीफल तमिलमा-मरुदम,पट्टई भनिन्छ।
काफलसँग 'काफल पाक्यो' चरीको पनि सम्बन्ध छ। काफल पाक्यो चरीको वैज्ञानिक नाम क्युकुलस माइक्रोप्टेरस हो। यो नेपाललगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने गर्छ। यो चरा समुन्द्री सतहबाट ३६०० मिटरसम्मको उचाइमा रहेका जङ्गलहरूमा पाइने गर्छ। यो घुम्ने चराको रुपमा पनि चिनिन्छ। बैशाखमा तराईमा पनि यो चरा 'काफल पाक्को' भन्दै मिठो स्वर गुन्जीत गर्दछ। डोटेली भाषा अनुसार अति मन मोहक र सुरिलो भाकामा 'काफल पाक्को, गला लाग्गो' अर्थात 'काफल पाक्यो, घाटिमा रोकियो' भनेर चराले समाजमा आफ्नो स्वर फैलाएको हामी प्रत्यक्ष सुन्न सक्छौँ।
काफल पाक्ने समय चैतदेखि जेठ महिनासम्म भए पनि वातावरणमा आएको परिवर्तन काफल पाक्ने समयमा तलमाथि भएको देखिन्छ। 'काफल पाक्यो' चरी र बेही लोक कथाहरूः-
कथा१-वास्तवमा 'चराले काफल पाक्यो भनेको हो कि अन्य कुनै सन्देश दिएको हो त्यो कुरा त अनुसन्धानको विषय हुन सक्छ।' बचपनममा भनिन्थ्यो काफल पाक्यो गला लाग्यो खानु के छ? चिउल्या रोटो साग के छ? नुन्या ढिको लाउनु के छ? उन्या भोटो दिन्या के छ? गाईको बाच्छो रुन्या को हो?'
अर्को कथा-एक पटक यस्तो भयो कि महिलाले बिहान सबेरै टिपेर घरको आँगनमा रहेको सानो टोकरीमा राखेकी थिइन्। घरायसी काममा व्यस्त भएकाले साँझपख काफल बेच्ने निर्णय गरे। छोरीलाई बोलाएर काफलको हेरचाह गर्न भनिन् र जङ्गलबाट नआउञ्जेल काफल नखान निर्देशन दिइन्। म आफैं तिमीलाई पछि काफल खान दिन्छु भनिन्। यति भन्दै आमाले अरु काम गर्न थालिन्। आमाको सल्लाह बमोजिम छोरीले काफल हेरी दिइरहेकी थिइन। यतिकैमा काफलले मन लोभ्याए पनि आमाको आज्ञा पालन गर्दै आफूलाई नियन्त्रणमा राखिन्। दिउँसो जङ्गलबाट फर्किदा आमाले एक तिहाइ टोकरी कम भएको र छोरी नजिकै सुतिरहेको देख्नुभयो। यो देखेर बिहानैदेखि काममा रहेकी आमालाई रिस उठ्यो र उनले नखानु भन्दा भन्दै पनि छोरीले धेरै खाएको महसुस गरिन्। आक्रोशित भई आमाले छोरीलाई कुटपिट गरिन्। कुटपिटपछि छोरीको अवस्था देखेर आमाले उनलाई धेरै हल्लाउनु भयो तर त्यतिन्जेल छोरीको मृत्यु भइसकेको थियो। छोरीको यसरी मृत्यु भएको देखेर आमा रोइरहेकी थिइन्। अर्कोतिर साँझपख काफलको टोकरी पुरै भरिएको थियो, महिलाको आँखा टोकरीमा परेपछि दिनको चर्को घाम र गर्मीका कारण काफल ओइलाएर चाँडै ताजा हुँदै गएको बुझिन्। ती आमा धेरै पछुताइन। र, उनको पनि सोही क्षणमा मृत्यु हुनपुग्यो।
यस घटनापछि प्रत्येक चैतको महिना चरीले 'काफल पाक्यो मै नाइ चाख्यो' अर्थात काफल पाके पनि मैले खाएन भन्छ भन्ने विश्वास भारतको उत्तराखण्ड कुमाउ गडवालका मानिसको रहेको छ। साथै यो कथाले काफललाइ मानवको भावनात्मक सम्बन्धसँग जोड्दछ।
तेस्रो लोककथाः-डोट्याल्ली 'फेत्वा फेतुली'को लघुकथामा पनि काफल(फेत्वा दिनोइ फेतुली खानी)को प्रसंग छ। जुन राष्ट्र, जुन भाषा र जुन जातिले आफ्नो बहुआयामिक प्रगति गरेको छ त्यसको साहित्यले पनि त्यसै अनुपातमा विकास विस्तार गरेको देखिन्छ। संस्कृत, अंग्रेजी, हिन्दी, उर्दु आदि भाषाहरूलाई नै लिन सकिन्छ ।काफलले पनी डोटेल्ली कुमाउनी र अन्य भाषामा आफ्नो ठाउँ लिएको पाइन्छ। लोकप्रिय फलको नाम लिने वित्तिकै मुखै रसाउने काफलसँग जोडिएको संस्कृति, परम्परा र संगीत संरक्षणमा हामी सबै मिलेर लाग्नु पर्दछ। सुदूरपश्चिमको तुलना गर्दा भोजराज भट्ट को 'काफल पाक्या आइजाउला...' प्रसिद्ध गीत हो भने बिमाकुमारी दुरा र राजु परियारको 'बनको काफल बनको चरीलाई' एक लोकप्रिय गीत हो।
हाम्रा गीतहरूमा काफलको प्रसङ्ग निकै धेरै आउने गरेको छ। भारतका कुमाउनी गडवाली गीतहरुमा पनि काफलको प्रसङ्ग आएको हुन्छ। सुदूरपश्चिमका देउडा गीत पनि काफल बिना अधुरो छन्।
महेश आउजीको प्रख्यात गीत 'काफल पाकन्ना,न्याँउली बासन्ना...', मेरा पहाड , गुराँस फूलन्ना...' अन्य काफल सम्वन्धि देउडा गीतहरु जस्तैः
आम पाक्या असार मैना, काफल पाक्या चैत।
गीत लेख्या दुःख जन माण्या, दुखारी हुँ मै त।।
चैत पाक्द्या काफल मिठा, असारमा आम।
बिषुकी लाउन सेल खान्जा, मुलै गर्या फाम।।
रस खाउँ की सुन्तली दाँना ,काँफल खाउँ की कैरी।
दुई दिनको मनुष्य चोला, माया ठुलो बैरी।।
काफलको बोक्राको काजल बनाउन र दाँत सफा गर्न प्रयोग गरिन्छ। जरा ,फल, फूल, बोक्रा, बिउ, पात परापूर्व कालदेखि नै आयुर्वेद औषधिको रुपमा प्रयोग गरिँदै आएको छ।
काफलले मानसिक रोग, मधुमेह, मोटोपन, पाइल्स, मुखको घाउ, नाक सम्बन्धी समस्या, कानको दुखाइ, कानको शुल, टाउको र शरीर दुखाइ, श्वास- प्रश्वास, दम खोकी,रुघा, खकार जम्ने, नपुंसकता, शुक्राणु उत्पादन, अल्सर, क्यान्सर, पेट दुखाइ, कलेजोको समस्या, कब्ज, एसिडिटी, रक्तपित्त, सुन्निने रोग निको पार्नुको साथै बहुगुणयुक्त औषधिको रुपमा प्रयोग गरिन्छ। (संकलन तथा लेखनः दीपक चन्द, मेलौली, तिताबै, बैतडी, हाल-कन्चनपुर) दिनेश खबरबाट