नारायण गाउँले
महाकालीदेखि कालापानी बेचेको मिडियाले होइन । आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका बेचेको मिडियाले होइन । ऋणमा बन्ने पाँच वर्षको मेलम्चीलाई २५ वर्ष लगाएर र पाँचौँ गुना लागत बढाएर लुटेको पनि मिडियाले होइन । दिनको दुई वटा अन्तर्राष्ट्रिय फ्लाइट पनि नहुने ठाउँमा ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने र त्यसको ब्याज तिर्न अर्को ऋण लिनुपर्ने ट्रयाप पनि मिडियाले सिर्जना गरेको होइन । मालपोतदेखि यातायातसम्म राजस्व तिर्न लाइन लाग्दासमेत घूस खुवाउनुपर्ने राज्य संयन्त्र पनि मिडियाले बनाएको होइन ।
लाउडादेखि धमिजा, ७० करोडदेखि दुई करोड, वाइडबडीदेखि यति र ओम्नी, भूकम्पको त्रिपालदेखि सुकुम्बासी पौडेलको बालुवाटारसम्मका काण्डहरू मिडिया नभएको भए बाहिर आउने थिएनन् । त्यत्ति मात्रै होइन, ज्यानको बाजी लगाएर मिडियाले मुक्तिनाथ अधिकारीदेखि बाँदरमुडेसम्मका नलेखेको भए त्यस्ता धेरै घटना दोहोरिने मात्रै थिएनन्, आज कांग्रेस–एमालेले गठबन्धनमा हुँदा जनयुद्ध दिवस मनाउने र बाहिर हुँदा १७ हजारको गणित देखाउने अवसर पाउने थिएनन् । मिडिया कमजोर हुन्थ्यो भने देशको सुशासनको चित्र थप कुरूप बन्ने थियो । अदालतले न्याय दिन नसकेका र राज्यले उपचारको सुविधा दिन नसकेका लाखौँलाई मिडियाले न्याय र उपचार दिएको छ । राज्यले उपेक्षा गरेका कैयौँ शवहरूलाई विदेशी कर्मभूमिबाट मिडियाले स्वदेश पु¥याएको छ ।
मिडिया यति शक्तिशाली नभएको भए शायदै बालेन काठमाडौंको मेयर चुनिने थिए । सेतोपाटीले त बालेन र रवि लामिछानेलाई चुनावअघि नै विजेता घोषणा गरेको थियो । आफैँविरुद्ध सार्वजनिक टिप्पणी आए पनि आफ्नो धर्म नगुमाई सेतोपाटीले तनहुँमा रास्वपाले ठूलो मतान्तरसहित जित्ने प्रक्षेपण गरेकै थियो । मिडियाले सुरुदेखि नै नयाँ उम्मेद्वारलाई अन्यलाईभन्दा बढी स्पेस दिएको थियो । मिडिया फेस नै गर्न मन नपराउने बालेनलाई पनि अझैसम्म मिडियाले साथ दिएकै छ । उनका साना स्ट्याटसलाई समेत प्रायशः हरेक मिडियाले समाचार बनाएको देख्नुभएकै होला । मिडियाकै शक्ति प्रयोग गरेर रवि लामिछानेले कैयौँ भ्रष्टाचार काण्डको भण्डाफोर गरेकै हुन्, कैयौँ दीनदुःखी र चेपुवामा परेका नागरिकको उद्धार गरेकै हुन् । उनको लोकप्रियता मिडियाकै शक्तिले आर्जेको हो । पोखरामा अपील त्रिपाठीले घूस खानेहरूलाई आच्छु आच्छु पारिरहेको मिडियाकै तागतले गर्दा हो ।
महाकालीदेखि कालापानी बेचेको मिडियाले होइन । आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका बेचेको मिडियाले होइन । ऋणमा बन्ने पाँच वर्षको मेलम्चीलाई पच्चीस वर्ष लगाएर र पाँचौँ गुना लागत बढाएर लुटेको पनि मिडियाले होइन । दिनको दुई वटा अन्तर्राष्ट्रिय फ्लाइट पनि नहुने ठाउँमा ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने र त्यसको ब्याज तिर्न अर्को ऋण लिनुपर्ने ट्रयाप पनि मिडियाले सिर्जना गरेको होइन । मालपोतदेखि यातायातसम्म राजस्व तिर्न लाइन लाग्दासमेत घुस खुवाउनुपर्ने राज्य संयन्त्र पनि मिडियाले बनाएको होइन । आज लाखौँ युवा बाहिर जान विवश हुने गरी भयावह बेरोजगारी छ, धान्नै नसक्ने स्तरको महँगी र मूल्यवृद्धि छ । बाटोमा धुलो र धुवाँको कुरो गर्नै परेन, हामी विश्वकै प्रदूषित राजधानी सहरमा बस्छौँ । देशै भरका बाटो धुलाम्य छन् । श्वासप्रश्वास र क्यान्सरको विकराल समस्या छ । ३० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणले ग्रस्त छन् । अधिकांश सडकहरूमा फुटपाथ छैन । ती यति असुरक्षित छन् कि १० वर्षे माओवादी युद्धको भन्दा धेरै जनधनको क्षति सडक दुर्घटनामा हुँदै आएको छ । यो सबै विषयमा नेपाली राजनीति बोल्दैन । अलिअलि बोल्ने मिडियाले नै हो ।
हरेक राजनीतिक दल मिडिया कमजोर होस् भन्ने चाहान्छ । कसरी मिडियालाई मुट्ठीमा कस्न सकिन्छ, त्यस्तो कानुन बनाउन चाहन्छ । तिनले यस्तो भाष्य निर्माण गर्न चाहन्छन् जसले गर्दा हामीलाई लागोस्, यो देश नेताहरूले स्वर्ग बनाउँदै थिए तर बीचमा मिडिया आएर नर्क बनाइदियो । यो देशका सारा बेथिति, विकृति, विसंगति र भ्रष्टाचार हटाउने हो भने मिडियाको घाँटी निचोरिदिए पुग्छ । देशमा सिस्टम ठीकठाक छ, नेताहरू ठीक छन्, योजना र तिनको गति ठीक छ । बस्, एउटा मिडिया ठीक भयो भने बाँकी त्यसै ठीक छ ।
मिडियाप्रति आम जनमानसमा विद्वेष, घृणा र अविश्वास पैदा गर्न सकियो भने भोलि आफ्ना अनियमितता र भ्रष्टाचार मिडियामा बाहिर आएछ नै भने पनि कसैले नपत्याउने या मिडियामाथि नै खनिने अवस्था आउँछ । मिडियालाई तेजोबध गर्न सकेको त्यो दिन अहिले भन्दा पक्कै भयावह हुनेछ । नयाँ र स्वच्छ भनिएका दलहरूले त सिस्टम र बेथितिविरुद्ध लड्नका लागि मिडियालाई बलियो बनाउनुपर्ने हो । जनमानसमा मिडिया र अदालतप्रति अविश्वासको विकास भयो भने देश बन्दैन भन्ने बुझाउनु पर्ने हो । पूर्ण विकृतिरहित क्षेत्र कुनै हुँदैन तर एकदुई उदाहरण समाएर सिंगो क्षेत्रलाई कालोमोसो दल्नुहुँदैन भन्ने सिकाउनुपर्ने हो ।
आज पुलिसभन्दा अगाडि बढेर मिडियाले हिम्मत नगरेको भए आरजू देउबादेखि मञ्जु खाँडसम्मका फाइल नखुल्न पनि सक्थे । मिडिया बलियो नभएको भए ओली, देउबा र प्रचण्डको त्रिवेणीमा यो प्रसंग त्यसै बगेर जान सक्थ्यो । मिडिया हुँदैनथ्यो भने देउबा र ओली मिलेर सरकार ढालिदिने थिए । मदन राई आज पुलिस कस्टडीमा पुगे, मिडियाले हिम्मत नगरेको भए दर्जनौँ बालबालिका यौनशोषणको सिकार बनिरहने थिए ।
विश्वभरको उदाहरण र अनुभव यही हो कि, भ्रष्टाचारविरुद्ध लड्ने सबैभन्दा ठूलो र शक्तिशाली नागरिक हतियार मिडिया नै हो । लड्नेमात्र होइन, रोक्ने हतियार पनि यही हो । मिडियाले लेख्छ र राजनीति सकिन्छ भनेर पश्चिमी देशमा मान्छे सानो कमिसन खान पनि डराउँछन् । जुन दिन मिडियाले लेखे पनि कसैले पत्याउँदैन भन्ने देखिन्छ, लेखेर केही खुइल्याउँदैन भन्ने देखिन्छ, त्यो दिन के होला ?
यसो सोच्नुस् न, विश्वकै गरिबमध्ये एक त थियौँ नै, केही वर्षयता हामी विश्वकै प्रदूषित शहरका बासिन्दा बनेका छौँ । गरिबी हटाउन त सजिलो नहोला, सफा बन्न त सकिन्थ्यो कि ? हरेक पल, हरेक ठाउँ, हरेक गल्ली धुलाम्य छ । यति धेरै धुलो र धुवाँ हाम्रो फोक्सोसम्म छिरेको छ भन्ने लेखाजोखा छैन । तपाईंलाई थाहा छ ? हामी श्वासप्रश्वाससम्बन्धी रोग र त्यसले हुने मृत्युदरमा विश्वकै नम्बर एक पनि छौँ । सासबाट छिर्ने धुलो र धुवाँ अनि तरकारी र फलफूलबाट छिर्ने विषादिले हरेक नेपाली बालबालिकाको शरीर छियाछिया छ । यसले जनस्वास्थ्यमा निम्त्याएको संकट बुझ्न मन लागे देशमा क्यान्सर, मधुमेह, दम र प्रेसरजस्ता बिरामीको डरलाग्दो वार्षिक वृद्धिदर हेरे पुग्छ । आफ्नै घरमा दिनहुँ जसो बिमार भइरहने सदस्यलाई हेरेर समस्याको जड के होला भन्ने कहिल्यै सोच्नुभएको छ ?
गरिब पनि हामी, फोहोरी पनि हामी, रोगी पनि हामी र, बुद्धिहीन पनि हामी । एउटा पनि अन्तर्राष्ट्रिय उडान नहुने कुनै अन्तर्राष्ट्रिय विमानस्थल कतै देख्नुभएको छ ? त्यो पनि ऋण लिएर बनाइएको होस्, शिलान्यास र उद्घाटनका नाममा करोडौं खर्च भएको होस् र उडानचाहिँ नहोस् । त्यो हामीसँग छ । त्यसको साँवाब्याज तिर्न र उडान नहुने विमानस्थलको रेखदेख गर्न अर्बाैं रुपैयाँ थप ऋण लिनुपर्ने अवस्था छ हाम्रो । यो त एउटा उदाहरण मात्रै हो ।जलस्रोतको दोस्रो धनी देश भनेर निबन्ध लेख्दा लेख्दै एउटा विद्यार्थीलाई प्यास लाग्यो भने शुद्ध पिउने पानी छैन न शौचालयमा पानी आउँछ । हाम्रा शहरहरूमा न पार्क छ, न कुनै सफा नदी र पोखरी छन् जहाँ एकछिन स्नान या जलविहार गर्न सकियोस् । नेपालको झन्डै एकतिहाई जनसंख्या बोकेको लण्डनले मुटुमा थेम्स नदीलाई जस्ताको त्यस्तै बचाएको छ, तर हाम्रो बाग्मती ? नबनाए पनि भएको त बचाएको भए हुन्थ्यो । आज कमलपोखरीदेखि नागपोखरीसम्म नाम मात्रै बाँकी छ ।
यस्तो पीडादायी अवस्थामा कम्तिमा हामीमा मानवता त छ नि भन्न पाइएको भए पनि हुन्थ्यो । गरिब, फोहोरी, रोगी, बुद्धिहीनसँगै हामी विवेकहीन पनि छौँ । यस्तो देशलाई पनि लुट्ने हामी कति नीच हौँला ? हामीले देश गुमाएर, सर्वश्व गुमाएर, बीसौं वर्ष जंगल छेउमा पानी चुहिने शिबिरमा जीवन बिताएका शरणार्थीको स्वाभिमान पनि बेचेर खाइदियौँ । गरिब मात्रै होइन, विवेकहीन मात्रै होइन, हामी संसारकै भ्रष्ट देश पनि हौँ । तथ्यांक पनि यही भन्छ र हाम्रो मनले पनि यो सही भन्छ । भ्रष्ट मात्र होइन हामी अन्तर्राष्ट्रिय ठगसमेत भनेर चिनियौं यसपालि । हाम्रो ठगी, हाम्रो भ्रष्टाचार देशको सीमा नाघेर बाहिरसम्म पुग्यो । देशको इज्जत र विश्वसनीयता हामीले लीलाम ग¥यौँ । संयोग भनौँ या दुःखद् भनौँ, बीसौँ लाख नेपाली आज देशबाहिर छन् । देशको छविले तिनलाई कस्तो अनुभूति देला ?
मुटुको कुनै कुनामा कताकता केही बिझ्दैन ? रगत उम्लन्न ? जिउँदो छु भन्ने भाव उम्रन्न ? के यो जीवनको एकमात्र उद्देश्य र प्राप्ति भनेको एउटा कार्यकर्ता भएर चितामाथि झण्डा ओढ्नुमात्रै हो त ? हिजो कसैले छुन नसक्ने ठानिएकाहरूको आसन हल्लिएको छ । मान्छे बर्बराउन थालेका छन्, शक्तिशाली पूर्वमन्त्रीहरू महल छोडेर दुलो पसेका छन् । पक्ष–विपक्ष सबैको चरित्र उदांग भएको छ । अझ पार्टी सत्तामा हुँदा उसैका भ्रष्टहरूमाथि छानबिन हुने अद्भुत नजीर स्थापना भएको छ । भ्रष्टहरूको अन्तिम अस्त्र र किल्ला भनेको सत्ता नै हुन्छ, त्यसैले ती फोहोरका झिंगाझैँ सत्ताकै वरपर भुनभुनाउँछन्, तर आज सत्तामै हुँदा ती असुरक्षित देखिएका छन् ।
यसअघि कामना गरिएको तर कल्पना नगरिएको दृश्य देख्न पाइएको छ । हिजो कानुन र इमान चपाउनेहरू आज कागज चपाउँदै छन् । जे भएको छ, जति भएको छ र जसरी भएको छ त्यो पनि ठूलो क्रान्तिजस्तै भएको छ । आफूसहित आफ्नालाई बचाउने टुप्पोहरूको ढाड भाँचिएर आफ्नै टाउको लुकाउन मुश्किल परेको देखिन्छ । कानुनका छिद्र समाएर, थुपारेको सम्पत्ति भजाएर, प्रमाणहरू चपाएर कति उम्किएलान्, कति दृश्यमैं नआउलान् । तर, अभूतपूर्व रूपमा तिनको अस्तित्वमा ठूलो भ्वाङ् परेको छ । यही रूपमा तिनले जनताको रगत चुस्ने र जनताले चुपचाप चुसिएर बस्ने अवस्था अब छैन ।
पहिले यो देखाउने दाँत हो भनियो । माथिकालाई छुने होइन, तलका एकदुई प्यादा र मोहरालाई समाएजस्तो गर्ने हो भनियो, विपक्षीलाई फसाउने षड्यन्त्र हो, आफ्नालाई त कसरी छुन्छ र भनियो तर जब सबै विषयान्तरका प्रयास र दाबी फेल हुँदै गए तब अमेरिकाले दबाब दिएकाले यस्तो भएको हो भन्ने नयाँ ज्ञान बाँडिदै छ । केही हुन्छ कि भन्ने आशा जागेका बेला होइन, हामीले केही गर्न सक्ने होइन, अमेरिकाले गरिदिने हो भन्ने भाष्य पेलिँदै छ । यो अन्य मुद्दा र काण्डका अभियुक्तहरूको मुटुमा ढ्यांग्रो बज्न नदिने प्रयास हो । अमेरिकाले भुटानी शरणार्थीमा पो चासो देखायो र, वाइडबड़ीदेखि सेक्युरिटी प्रेससम्म उसलाई के चासो र ? त्यसैले चिन्ता गर्न पर्दैन भन्ने आश्वासन हो । काम गर्न खोज्नेलाई निरुत्साहन र भ्रष्टलाई प्रोत्साहन गर्ने यस्तो भाष्य सजिलै बिक्छ । तीन वर्षअघि अख्तियार पुगेका ‘पीडित’, सबै कुरा थाहा भएर पनि चुपचाप बसेका ओली, अमेरिकाका प्रिय भनिने देउबा र तिनका हनुमान् बालकृष्ण खाँड कसैलाई पनि अमेरिकाले दबाब नदिएर कसरी नारायणकाजीलाई मात्रै दिएछ ?
यत्ति हामीले पनि बुझ्नुपर्छ, ३०÷३२ सिटको एउटा दलका प्रधानमन्त्रीले गर्न सक्ने यत्ति नै हो । १५ खर्बको हाम्रो बजेट छ, प्रगतिचाहिँ हजार खर्वको अमेरिकाजस्तो खोजेर भेटिन्न । सरकार टिकेन भने यत्ति पनि नहुन सक्छ । केही नहुनुभन्दा अलिकति हुनु राम्रो हो । ८०–९० सिटका अन्य दलले यही अनुपातमा अरू फाइल खोलेर सफाइ गर्ने हो भने राजनीति धेरै हदसम्म सफा हुन्छ । भ्रष्टहरू नयाँ होइनन्, सिकारु होइनन् । तिनले प्रशस्त प्रमाण छोडेर भ्रष्टाचार गरेका हुँदैनन् । कतिलाई थाहा पाएर, अनुमान गरेर पनि समाउन सकिन्न । अनि भ्रष्ट करार गर्ने सरकारले होइन, अदालतले हो, त्यहाँ फेरि यिनकै दूतहरू हुनसक्छन् । तर खुशी र आशाको कुरो के छ भने, तिनको नकाब उत्रिसकेको छ । अन्तिम र निर्णायक धक्का हाम्रो हातमा, जनताको कोर्टमा पुगिसकेको छ ! हामी नै दास बाँचिरहन चाह्यौँ भने त के लाग्यो र ?