नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कुनै अनुचित सम्झौता नगरिने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश र जनतालाई फाइदा हुने सम्झौता गरिने बताए । ‘मैले भारत भ्रमणमा कुनै त्यस्तो अनुचित सम्झौता गर्दिन । देश र जनताको पक्षमा हुने निर्णय गरिने छ ।
मैले राम्रो गर्न सकेमा प्रयास गर्ने छु’ बैठकमा सहभागी एक सांसदले भने, ‘यदि सकिएन भने नराम्रो गर्दिन । केही नहुने भयो भने नराम्रो नगर्ने योजना छ ।’ संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमणको कार्यतालिका बारेमा जानकारी गराएका थिए । बैठकमा प्रचण्डले व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई एजेण्डा बनाएका छन्
यस्तै कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल हुने प्रचण्डले बताएको ती सांसदले बताए । भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने प्रचण्डले बताएका छन्। आगामी आर्थिक वर्षको बजेट राम्रो ल्याएको प्रचण्डले दाबी गरेको सांसद नारायणी शर्माले बताइन् ।
‘हामीले सारमा राम्रो बजेट ल्याएका छौं । अहिलेको संकटपूर्ण बजेटलाई धान्ने खालको बजेट ल्याएको छ,’ प्रचण्डको भनाई उल्लेख गर्दै शर्माले भनिन्, ‘अहिलेको संकटलाई सम्बोधन गर्ने खालको बजेट आएको छ । अहिलेको परिस्थिति बमोजिम राम्रो बजेट ल्याएका छौं ।’