सुदूरपश्चिम प्रदेशमा आज सरकारले बजेट ल्याउँदैछ । आज अपरान्ह ४ बजे प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतको तयार गरिरहेका छन् ।
बजेटको संघारमा गठबन्धन दलका नेताले असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मानसिंह मालले बजेट प्रस्तुतपछि सरकार परिवर्तनको संकेतसमेत दिएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले बजेटपछि सरकार तलमाथि भए आश्चर्य मान्नु नपर्ने बताएका छन् ।
‘सुदूरपश्चिम प्रदेश सुदूरपश्चिम प्रदेश सरकारको आज प्रस्तुत हुने आव २०८०/०८१ को बजेट निर्माणदेखि लिएर विभिन्न कुराहरूमा एकल सरकारको जस्तो झल्को महसुस भयो,अब सत्ता साझेदार दलहरूकै लागि नखाऊ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहारजस्तै हुने निश्चित छ ’, उनले लेखेका छन्, ‘बजेटपछिको अवस्थामा सुप प्रदेश सरकारमा तलमाथि भए आश्चर्य मान्नुपर्ने छैन ।’
उनले अहिलेकै अवस्थामा बजेट पारित हुन सक्ने सम्भावना क्षीण रहेको समेत बताए ।
‘मन्त्रीहरू नै सन्तुष्ट छैनन् । माननीय पनि सन्तुष्ट छैनन् । सुझाव कार्यान्वयन भएको छैन । अर्थमन्त्री र मुख्यमन्त्री हाबी भएको आरोप छ ’, उनले भने ‘यही अवस्थामा बजेट पारित हुने सम्भावना न्यून छ । बजेट पारित नभए सरकार नैतिकताको आधारमा छोड्नुपर्छ। ’
माओवादी नेता मालले प्रदेशसभा सदस्यहरूसँग पर्याप्त छलफल भएपनि बजेटमा ती विषयहरू नसमेटिएको गुनासो गरे ।
माओवादी प्रमुख सचेतक तथा पूर्वमन्त्री मानबहादुर धामीले पनि बजेट प्रस्तुत नहुँदै विरोध सुरू भइरहेको संकेत गरेका छन् ।
‘हामीले पटक पटक छलफल गरेका थियौं । तर, त्यो अनुसार बजेट नआउने देखिएको छ ’, उनले भने, ‘कि सांसदलाई प्राथमिकतामा राख्नु पर्ने थियो कि स्थानीय तहमा पनि सर्वदलीय र सर्वपक्षीयरूपले योजना माग गरिनुपर्ने थियो ।’
सरकार नै गम्भीर नभएको हुँदा आगामी आर्थिक वर्षको बजेटको दुरुपयोग हुनसक्ने उनले बताए । आगामी आर्थिक वर्षको बजेट घटेर आउन लागेको विषयमा पनि उनले विरोध जनाए ।
‘वृहत् ढंगले छलफल गरेर अगाडि बढ्नु पर्ने थियो । बजेट घटेर आउँदै छ भन्ने सुनेका छौँ’, उनले भने ‘संघीय सरकारले उस्तै बजेट ल्यायो । हाम्रो प्रदेशमा मात्रै बजेट घट्नुको कारण के हो बुझ्न सकिएन । पुरानै अवस्थाको बजेट ल्याउनु पर्ने थियो । सत्ता साझेदार दलहरूसँग पनि समन्वय भएन ।’
प्रमुख सचेतक धामीले सामाजिक सञ्जालमा पनि बजेटलाई लिएर व्यङ्ग गरेका छन् ।