नेकपा एमालेका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गरेको संसद् अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय बनेको हो।
बुधबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरेर राष्ट्रियसभामा पठाउने कार्यसूची रहेको थियो ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मिटरब्याज सम्बन्धी समाधान गर्नका लागि २ महिना अघि सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो।
राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभाको बैठक पनि सूचना निकालेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिपक्षी दलले बैठक स्थगित गरेका कारण प्रतिस्थापन विधेयक पारित हुने अवस्था नभएकोले निष्क्रिय भएको हो ।
सरकारले गत वैशाख २० गते मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याएको थियो । त्यसको ४ दिनपछि प्रतिनिधिसभाको बर्खे अधिवेशन प्रारम्भ भएको थियो । गत वैशाख २७ गते संसद्ले सो अध्यादेश स्वीकार गरेको थियो ।
सरकारले ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा संसदमा प्रस्तुत गरेर पास गर्नुपर्ने अन्यथा अध्यादेश निष्क्रिय हुने व्यवस्था रहेको छ ।