काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा बरामद भएको सुन तस्करी प्रकरणमा नेपाल, भारत र चीनका तस्करहरु संलग्न भएको खुलेको छ ।
सो प्रकरणमा चिनियाँ र भारतीय नागरिकसमेत पक्राउ परेपछि त्रिदेशीय गिरोह सक्रिय रहेको पाइएको हो ।
बुधबार विमानस्थलबाट बरामद भएको एक सय ५५ केजी सुन तस्करीमा संलग्न भएका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका छन् । हालसम्म १० जना पक्राउ परेका प्रहरीले जनाएको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो ।
विभागबाट खटिएको टोलीले बिहीबार (४ असार) साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौंका छुट्टाछुट्टै स्थानबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।
पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। अहिलेसम्म कसले कसलाई सुन पठाएको भन्ने प्रष्ट भइसकेको छ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।
यी हुन पक्राउ परेकाहरूः
१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)
२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)
३) रामकुमार भुजेल (दोलखा)
४) दीलिप भुजेल (दोलखा)
५) हर्कराज राई (भोजपुर)
६) अशोक लामा (ट्याक्सी चालक)
७) राजन श्रेष्ठ (ठेगाना नखुलेको)
८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको)
९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)
१०) राजेन्द्र राई (भन्सार एजेन्ट)