यस बर्षको बडादशैँ सबैको घरघरमा प्रवेश गरिसकेको छ । बडादशैँलाई हिन्दुधर्मालम्बी तथा नेपालीले विशेष महत्त्व दिएर मनाउँने गर्दछन । परदेसिएका र कामविशेले बाहिरी एका आफन्त तथा घरपरिवार पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन् ।
दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु धार्मिक,सांस्कृतिक र परम्परागत रूपमा महत्त्वपूर्ण मानिन्छ र शुभ पनि मानिन्छ । रातो माटो र कमेरोले घर लिप्दा घर पनि कम्ता आकर्षक देखिँदैनन् । रातो माटो र कमेरोले लिपेपछि मात्र गाउँघरमा दशैँ आएको अनुभूति हुन्थ्यो । पछिल्लो समय भने रातोमाटो र कमेरोले घर लिप्ने चलन विस्तारै लोप हुँदै हराउँदै जान थालेको छ ।
आधुनिकताको प्रवेशले परम्परागत घरहरु विस्थापित हुँदै जाँदा रातो माटो र कमेरोले घर पोतिन छाडेका छन् । गाउँघरमा खरले छाएका र ढुंगा गारोले चिनेका घरहरु लोप हुँदै, हराउँदै जाँदा घर पोत्ने परम्परा पनि बिस्तारै हराउँदै जान थालेको डडेल्धुरा आलितल १ दिपल्मारेका खडक दाहालले बताए।
उनले भने ‘पहिले गाउँमा सबै घरहरु रातो माटो र कमेरोले लिप्ने चलन थियो,घर चम्काउने र टल्काउने प्रतिस्पर्धा नै चल्थ्यो तर आजभोलि पक्की घर बन्न थालेपछि अरू रङ अनि पेन्ट लगाउने चलन आयो।’ आफ्नो घर ढुंगामाटोको भएकाले सँधै र अहिले पनि घर लिप्दै आइरहेको उनको भनाइ छ ।
पहिले घर लिप्ने माटो ल्याउन गाउँभरका सबै मिलेर एकैपटक टाढा टाढा जाँदा अलग्गै रमाइलो पनि हुन्थ्यो र सुखदुःखका कुरा साटासाट पनि हुन्थे एकआपसमा भलाकुसारी गर्दै धार्मिक साँस्कृतिक परम्परा अनुसारले घर लिपपोत गरिन्थ्यो तर आजभोलि पक्की घर बन्न थालेपछि त्यो परम्परा पनि सकिँदै जानथाल्यो। गाउँघरका जम्मा भएर सुखदुःख साटासाट गर्ने संस्कार पनि हरायो दाहालको भनाइ छ ।
गाउँमा ढुंगा, माटो र खरले बनेका घर विस्तारै हराउँदै जान थालेका छन् । अचेल फलाम, जस्तापाता र सिमेन्टका घर बन्न थालेपछि बजारबाटै आउने रङ प्रयोग हुँदा परम्परागत मौलिकता पनि हराउँदै जान थालेको उनले बताए ।
सरकारले खरका छाना हटाउने अभियान चलाउँदा पनि परम्परा अनि मौलिकता हराउँदै जान थालेको स्थानीयको भनाइ छ । अहिले बजार कुन हो गाउँ कुन छुट्याउन पनि गाह्रो हुने गरेको स्थानीय तुलसी दाहालको भनाइ छ ।
बजारमा पनि ठूला ठूला पक्की घर छन् । गाउँघरमा पनि विस्तारै पक्की घर बन्दै जाँदा शहर र गाउँबीचको दूरी पनि हट्दै गएको अनुभूति हुने गरेको उनले बताइन।
उनले भनिन "पहिले आफ्नो घर राम्रो देखाउन निक्कै टाढा टाढा दिनभरिको बाटो लाग्नेगरी रातो माटो, कमेरो बोकेर ल्याइन्थ्यो । भित्र बाहिर लिपेर चिटिक्क पारिन्थ्यो तर आजभोलि बजारबाट रङ ल्यायो लिप्यो ।
यसरी दिनहुुँ परम्परा र मौलिकता हराउँदै जानू राम्रो नभएपनि आधुनिकताको अगाडि कसैको केही नचल्ने बताइन। सबैकुरामा मौलिकता बचाउन समय र आधुनिकताले गर्दा नसकेपनी केहिकेही महत्त्वपूर्ण कुराहरूमा आफ्नो मौलिक परम्परा जगेर्ना गर्नुपर्ने दाहालको भनाइ छ ।