नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम प्रदेश समितिको "जनतासँग माओवादी विशेष रुपान्तरण तीन महिने अभियान"को आवधिक समिक्षा बैठक सुरु भएको छ। डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकामा सुरु भएको बैठकमा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रिय उप-महासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका छन भने कार्यक्रमको अध्यक्षता माओवादी केन्द्रका स्थाइ समिती सदस्य खगराज भट्ट्ले गरेका छन।
दुई दिन सम्म चल्ने उक्त बैककमा माओवादी केन्द्रका केन्द्रिय सदस्य,प्रदेश पदाधिकारी,जिल्ला संयोजक/सचीवहरु केन्द्रिय सल्लाहकार परिषद सदस्यहरु,केन्द्रिय आयोग सदस्यहरु तथा जेष्ठ कम्युनिस्ट मंचका सदस्यहरु सहित १५० जना नेताहरुको सहभागीता रहेको छ।
सरकारले लिएको सुशासन,समृद्धि,र सामाजिक न्याय प्रदान गर्ने उदेश्य सहित यस अघि २०८०श्रावण २१ गते देखि बसेको माओवादी केन्द्रको केन्द्रिय समितिले तीन महिने पार्टी रुपान्तरण अभियान संचालन गर्ने निर्णय गरेको थियो। बैठकले "जनतासँग माओवादी विशेष रुपान्तरण अभियान"सञ्चालन गर्ने निर्णय गर्दै भदौ १६ देखि मंसिर १५ सम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। जस अन्तर्गत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रिय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७ सय ४३ वटै वडामा एकैसाथ उद्घाटन गरेका थिए।
"जनजनमा माओवादी मनमनमा माओवादी "को नारासहित हरेक गाउँबस्ती र जनताको घरघरमा पुग्ने लक्ष्यसहित सञ्चालन भएको अभियानमा प्रत्येक वडामा केन्द्रिय सदस्यलाइ कमान्डर तोकेर जिम्मेवारी दिएको थियो।
माओवादीले संचालन गरेको उक्त अभियान अन्तरगत गाउँगाउँमा बाटोघाटो बनाउने,सरसफाइ गर्ने देखि जनताको खेतबारीमा जोत्ने र खेतिबाली काट्ने र भित्र्याउने सम्मका बिभिन्न जनमुखी कामहरु गरेको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश समितिका सचिव जनक बुढाले बताए। माओवादी केन्द्रले चलाएको उक्त अभियानको प्रभावकारिता र उपलब्धिको समिक्षा सहित आगामी थप कार्योजना सहितको योजना निर्माण गर्न सो बैठक बसेको नेता बुढाले बताए।