सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हुँदा प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समयआज साँझ ५ बजे सकिँदैछ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेकबेला नेकपा (एमाले) भने अझै निर्णयमा पुग्न सकेको छैन। नेकपा (एमाले) ले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न चाहेको छैन।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमाले नेतृत्वको चाहना छ। एमालेको मनोदशा बुझेरै एकीकृत समाजवादीले बुधबार केन्द्रीय सचिवालय बैठकबाटै सोडारीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।
तर एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने आफूहरू पर्ख हेरको अवस्थामा रहेको बताए। ‘हामी पर्ख र हेरकै अवस्थामा छौं,’ उनले भने, ‘हाम्रो निर्णय कुर्न केहीबेर पर्खनै पर्ला।’
सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन्। एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने बताएको छ।
२०७७ सालमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला सोडारी कारबाहीमा परेका थिए। तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला सोडारीको अश्लील संवाद बालुवाटार पुगेको थियो।
एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष ओलीले उनलाई मन्त्रीबाट हटाउन भनेका थिए। र, पार्टीबाटसमेत कारबाही गरेका थिए।