पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा मंगलबार दिइएको जानकारी अनुसार आज थपिएका संक्रमितमध्ये महिला ९० र पुरुष ४४८ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार झापा, सुनसरी, मोरङ, सप्तरी, महोत्तरी, बारा, अछाम, अर्घाखाँची, बागलुङ, बझाङ, बाजुरा, डडेल्धुरा, धादिङ, गोर्खा, गुल्मी, कैलाली, कंचनपुर, कास्की, नवलपरासी, पर्वत, रौतहट, प्युठान, रुपन्देही, सर्लाही, सिराहा, स्याङझा, तनहुँ, धनुषामा नयां संक्रमितहरु भेटिएका हुन । योसंगै नेपालमा संक्रमितको संख्या दश हजार ९९ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा आज मात्रै थप ११६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढीको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलाली एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।