कृषि ज्ञानकेन्द्र र भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा जिल्लाको भित्रीमधेस क्षेत्रको आलिताल आसपासका विभिन्न कृषि तथा पशुपालन सँग संबंधित फर्महरुको संयुक्त अनुगमन गरिएको छ।
सोमबार कृषि ज्ञानकेन्द्र,भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र डडेल्धुरा,जिल्ला प्रशासन कार्यालय डडेल्धुरा,जिल्ला प्रहरी कार्यालय डडेल्धुरा,राष्ट्रिय अनुसन्धान केन्द्र डडेल्धुरा तथा संचारकर्मी सहितको संयुक्त टोलिले अनुगमन गरेको हो।
अनुगमनका क्रममा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ४ को ओखलढुंगा गाउँ स्थित मान बहादुर गिरिको मौरिपालन फर्ममा अनुगमन गरिएको थियो। ओखलढुंगा गाउँका मान बाहादुर गिरिले व्यवसायिक रुपमा मौरिपालन गरि मनग्य आम्दानी गर्दै आएका छन। कृषि ज्ञान केन्द्र डडेल्धुरा को ५०% लगानी र बाँकी आफनै लगानीमा हाल उनिसँग ७५ वटा मौरी सहितका घार रहेका छन भने बार्षिक ५ देखि ७ लाख रुपैया सम्म कमाइ हुने गरेको कृषक गिरिको भनाइ छ।
कृषि ज्ञान केन्द्र डडेल्धुराबाट मौरि घार,मह प्रशोधन मेसिन लगायत विभिन्न प्राविधिक सहयोग प्राप्त गरेका गिरिले सरदर १ हजार प्रती केजिका दरले मह बेच्ने गरेको बताउँछन। अहिले ओखलढुंगा ग्वान्नी घरेलु लगायतका गाउँका किसानहरु व्यवसायिक मौरिपालन गर्दै मनग्य आम्दानी गर्दै आइरहेको छन।
सोही सिलसिलामा आलिताल गाउँपालिका वडा नम्बर ४ स्थित जालखेतमा गरिएको व्यवसायिक ड्रागन खेतीको पनि अनुगमन गरिएको थियो।
सरकारले आलिताल गाउँपालिकाका वडा नम्बर ४ को घरेलु,बेलभाडी,ग्वान्नी,ओखलढुंगा आलितालकै वडा नम्बर १,२ र ३ वडालाई मौरी तथा मह उत्पादन पकेट क्षेत्र घोषणा गरि आवस्यक सहयोग तथा बिभिन्न योजनाहरु अगाडि बढाइरहेको ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरु बताउँछन्।
संयुक्त अनुगमन टोलिले आलिताल गाउँपालिका वडा नम्बर ६ र ७ भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा द्वारा अनुदानमा वितरण गरिएका आधुनिक गोठहरुको पनि अनुगमन गरिएको थियो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले आलितालका ६ र ७ नम्बर वडाका किसानहरुको २५ जनाको समुहलाइ २५ लाख बराबरका आधुनिक गोठ निर्माणमा अनुदान दिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यलय प्रमुख देवराज भट्टले बताउनुभयो।
आधुनिक गोठ निर्माणमा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराको ५०% र किसानको ५०% लगानी रहेको कार्यालय प्रमुख भट्टले बताउनुभयो। कार्यालय प्रमुख भट्ट डडेल्धुराका ९ वटा विशेष पकेट क्षेत्र मध्य सबैभन्दा उत्कृष्ट समूह आलितालको रहेको बताउनुभयो । आलितात क्षेत्रका किसानहरुलाई दुग्ध उत्पलाइमा आत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ।
परम्परागत गोठबाट मल मुत्र देखि घाँस कुँडो लगायत आहारा खुवाउन र गोबर सोहर्न अफ्ट्यारो भएको मा आधुनिक गोठबाट सजिलो रहेको उक्त लालिगुराँस पशुपालन समुहकी अध्यक्ष धना देवि ढाँटले बताइन्। किसान केन्द्रित कार्यक्रमले किसानहरुलाइ ठुलो राहत र सहयोग भएको उनको भनाइ थियो।