कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको लालझाडी गाउँपालिका– ४ मा गयराति १ बजे तिर जङ्गली हात्तीको आक्रमणबाट सोही ठाउँका अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले हात्तीको आक्रमणमा परेर लालझाडी गाँउपालिका ४ डाँगाजाईका स्थानीय ५० बर्षिया रामदल रानाको मुत्यु भएको बताए ।
प्रवक्ता जोशीका अनुसार शनिबार राती हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाँउ प्रवेस गरेको थियो । ‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए, ‘प्रवक्ता जोशीले भने, ‘राती खोज्दा भेटाएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन ।’ हात्ती धपाउने क्रममा स्थानीय ३५ बर्षिया नियानन्द राना पनि समान्य घाईते भएका छन ।
उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताएका छन । जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए । त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ ।
अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ । यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए । हात्तीले स्थानीयवासीका बालीनाली नष्ट गर्नाका साथै घर टहरासमेत भत्काउने गरेको लालझाडी गाउँपालिका– ४ वडा अध्यक्ष बहादुर रानाले बताए ।
पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकञ्जबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ ।