यसवर्षको बडादसैं आजबाट सुरु भएको छ ।बडादसैंको पहिलो दिन घटस्थापना गरेर जमरा राख्ने गरिन्छ ।
घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
आज गणेश, दियो, कलशको पूजा गरेर घटस्थापना गरिन्छ । जमरा राख्ने बेलामा शक्तिस्वरुपाहरुको पूजा हुने गर्छ ।
असोज शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ ।
यस दिनदेखि नवरात्री आरम्भ हुन्छ । असोज शुक्ल प्रतिपदा आजदेखि पूर्णिमासम्म १५ दिन नेपालीका घर आँगनमा आ–आफ्ना विधि र परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गरी दसैँ हर्षोल्लासका साथ मनाइँदैछ ।
घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई कलशको स्थापना गरेपछि जमरा राखिन्छ ।
बालुवा माटोमा जौ, धान, मकैलगायत छरेर जमरा उमार्ने गरिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।
जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।
देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रुपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्व अन्तरगत नवरात्रीको उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुक्ष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।