डडेल्धुरा : डडेल्धुरामा सुन्तला जातका फलफुल बगैंचा व्यवस्थापन तथा सुदृढीकरण गर्न कृषकलाई तालिम तथा सामाग्री हस्तान्तरण गरिएको छ। आइतबार कृषि ज्ञान केन्द्र डडेल्धुराको आयोजनामा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ को रेल गाउँका कृषकहरुलाई तालिम सहित सामाग्री प्रयोग गर्ने तरिका र कृषि सामग्री हस्तान्तरण गरिएको हो।
गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ रेलक्षेत्र सुन्तला र मौसमको लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ । फलफुल उत्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ कृषकलाई बगैंचा व्यवस्थापन तथा उत्पादन सम्बन्धि तालिम दिएको ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। कृषि ज्ञानकेन्द्र डडेल्धुराको प्राविधिक सहितको टोलीले कृषकलाई सुन्तला जातको बगैंचा व्यवस्थापन,गोडमेल तथा बिरुवा लाइ मलजल,औसधि र फलफुल काँट्छाँट गर्ने तरिका सिकाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका बागबानी अधिकृत रामसिंह बोहराले जानकारी दिए।
ज्ञानकेन्द्र डडेल्धुराका प्राविधिकको टोलीले बोट काँटछाँट गर्ने, बाक्लो हाँगा, रोगी हाँगा,चोर हाँगा र भित्रपट्टि फर्केका हाँगाबिँगा हटाउने,काटने र काटेको ठाउँमा औसधि लगाउने, मल राख्ने र सिँचाइ गर्ने विधि तथा तरिका सहित कृषकलाई सिकाएको अधिकृत बोहराले बताए। तालिमको क्रममा उपस्थित कृषकहरुले फलफुल उत्पादन मा देखीएका विभिन्न समस्या तथा चुनौतीहरुको बारेमा आफना समस्या राखेका थिए। बोट पहेँलो हुने, बोट सुक्ने,बोटको टुप्पो सुक्ने फल झर्ने लगाएतका समस्या रहेको कृषकको जिज्ञासा थियो।
बगैंचा सुदृढीकरण कार्यक्रममा रेल गाउँका ५० जनाभन्दा बढी कृषक सहभागी थिए । यसैबीच, तालिममा सहभागी कृषकलाई कृषि सामग्रीहरु समेत हस्तान्तरण गरिएको थियो। कृषि सामाग्रीहरुमा फुट स्प्रे, कैँची क्रप कपर पेस्ट सिकेचर,आरि,बोर्डपेस्ट सिल्ट्रस प्लस,प्याडल स्प्रे,भिटामीन लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको अधिकृत बोहराले जानकारी दिए।
