डडेल्धुरा - आलितालमा पहिलो पटक विश्व सिमसार दिवस मनाईएको छ । महाभारत र चुरे पर्वतको सिमानामा पर्ने आलितालमा पहिलो पटक विश्व सिमसार दिवस मनाईएको हो । भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिका ३ मा अवस्थित आलितालमा सिमसारको महत्व, संरक्षणका लागि बहस र सरसफाई गर्दै आईतबार विश्व सिमसार दिवस मनाईएको छ ।
हाम्रो साझा भविष्यको लागि सिमसार क्षेत्रको संरक्षण भन्ने मूल नारा यस वर्षको विश्व सिमसार दिवसको रहेको थियो । यसै विषयमा आलिताल गाउँपालिका र छिमेकी डोटी जिल्लाको जोरायल गाउँपालिकाका जनप्रतिनिधि, आलिताल सव डिभिजन वन कार्यालयका वन अधिकृत, यस क्षेत्रका विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयहरुको उपस्थितीमा जानकारी, बहस र आलिताल क्षेत्रमा सरसफाई गरिएको हो।
आलितालको संरक्षण, भू क्षयीकरण रोक्नका लागि बाँध लगाउने, सिचाईका लागि व्यवस्थित बाँध, अवलोकनका लागि चारै तर्फ फुटपाथ निर्माण, टहरा निर्माण, घेरबार गरिएको आलिताल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर बुढाले जानकारी दिए । तालको पूर्व तर्फको किनारमा भ्यू टावर पनि निर्माण गरिएको उनले बताए । आलिताल धार्मिक आस्थाका रुपमासमेत रहेकाले यस वर्ष २५ लाख रुपियाँ लागतमा मन्दिर निर्माण गरिएको उनले बताए।
यस अघि आलितालमा पहिलो पटक नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपन्छी गणना गरिएको थियो । ताल क्षेत्रमा ४८ प्रजातिका जलपन्छी देखा परेको चराविज्ञ डगौराले बताए ।
उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस, विश्वमै दुर्लभ मालक हाँसलगायत चराहरु देखिएका छन् । ताल आसपासमा चराहरुको अध्ययन बाँकी रहेको उनको भनाई छ ।
आलितालमा अहिले रैथाने र आगन्तुक जलपन्छीबारे अध्ययन सुरु गरिएको छ । ताल क्षेत्रमा एक वर्षसम्म अध्ययन र अवलोकनपश्चात ताल क्षेत्रमा कुन प्रजातिका कति चराहरु रहेको भन्नेबारे जानकारी हुने उनले उल्लेख गरे । हाल ताल क्षेत्र र वरिपरिका चराको मात्रै अभिलेख राखिएको उनको भनाइ छ ।
आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा छ । यस तालको लम्बाइ एक हजार एक सय ७५ मिटर र चौडाइ करिब चार सय मिटर रहेको छ । यहाँ चरा संरक्षण गर्न गाउँपालिकाले एकजना हेरालुको व्यवस्था गरेको छ । चरा अवलोकन गर्न र तालको सौन्दर्य अवलोकन गर्न पर्यटक यहाँ आउने गरेका छन्।