धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार समुह चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले न्यू होराईजन बुटबललाई पराजित गरेसँगै सेमिफाईनल समिकरण पुरा भएको हो ।
अत्तरियासहित, फ्रेन्ड्स क्लब डडेल्धुरा, डिसिए धनगढी र न्यू होराईजन बुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्न सफल भएका छन । अत्तरियासँग शुक्रबारको खेल हारेपनि रनरेटका आधारमा बुटबल सेमिफाइनलमा पुगेको हो । समान अंक भएका बैतडी र काठमाण्डौ भने समुह चरणबाट बाहिरिएका छन ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा अत्तरियाले बुटवललाई ७८ रनको फराकिलो अन्तरले पराजित ग-यो । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १८८ रनको स्कोर तयार ग¥यो । उसका लागि भीम सार्की र विवेक यादवले अर्धशतकीय पारी खेले । सार्कीले ५८ तथा यादवले ५१ रन बनाए । यस्तै शंकर रानाले ३१ तथा कप्तान सन्तोष कार्कीले २३ रन जोडे । बलिङमा बुटवलका निर्मल गुरुङले दुई तथा बीर मगर, तुलबहादुर थापा र बिपर्सन केसीले एक–एक विकेट लिए ।
१८९ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको बुटवलले २० ओभरमा आठ विकेट गुमाउँदै ११० रन मात्रै बनाउनसक्यो । उसका लागि प्रतिक श्रेष्ठले १८, तुलबहादुर थापाले १७ र बीर मगरले १५ रन जोडे । बलिङमा अत्तरियाका राशिद खान, विवेक यादव र सहाव आलमले समान दुई–दुई विकेट लिए । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेका विवेक यादब खेलको म्यान अफ द म्याच चुनिए ।
सेमिफाईनलमा अब अत्तरियाले डिसीए धनगढीसँग प्रतिष्पर्धा गर्नेछ भने डडेल्धुराले बुटवलसंग खेल्ने छ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।