डडेल्धुरा - डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७५ औं प्रजातन्त्र दिवस भव्य रुपमा मनाएको छ।"श्रमको सम्मान र राष्ट्रको अभियान"भन्ने मुल नाराका साथ उक्त कार्यक्रम मनाइएको हो। बुधबार जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर २ हाट स्थित ऎतिहासिक अजयमेरु कोट परिसरमा ७५ औं प्रजातन्त्र दिवस मनाइएको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट ले बताए ।

अजयमेरु गाउँपालिकामा अवस्थित ऎतिहासिक अजयमेरु कोटको संरक्षण,प्रवर्द्धन र विकासका लागि गाउँपालिकाको योजना र पुरातात्त्विक विभागको प्राविधिक सहयोग तथा जिल्ला समन्वय समितिको समन्वयमा कोटको उत्खनन भइरहेको छ। सो अवसरमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खडकाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको बिशिस्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो। सोही अवसरमा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुख,उपप्रमुख हरु,जनप्रतिनिधि हरु,विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु,राजनीतिक दलका प्रतिनिधिहरु,सञ्चारकर्मीहरु सहित स्थानीयहरुको उपस्थिति रहेको थियो।

ऎतिहासिक अजयमेरु कोटको संरक्षण,प्रवर्द्धनका लागि केन्द्र र प्रदेश सरकारले सहयोग तथा तदारुकता देखाउन जरुरी रहेको अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) ले बताए । केन्द्र र प्रदेश र स्थानीय सरकारको पहलमा कोटको संरक्षण गर्न यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघिय तथा प्रदेशका माननीय तथा सरोकार वालाको पहलकदमी तथा प्रतिबद्धता जाहेर गर्न निम्तो दिएकोमा प्रदेश सामाजिक विकास राज्यमन्त्री मात्र आएको अरु कोही नआएको भट्टले गुनासो गरे।

सुदूरपश्चिम क्षेत्रकै ऎतिहासिक,पर्यटकीय गन्तव्यको रुपम विकास गर्न उत्खनन गरिएको पुरातत्त्व विभागका अधिकृत भाष्कर ज्ञवालीले जानकारी दिए। पुरातत्व विभागको टोली २३ दिनदेखि उत्खनन कार्यमा संलग्न रहेको र उत्खनन कार्यलाई थप सात दिन लम्ब्याइएको ज्ञवालीले बताए । उनले अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउने प्रयास गरिने बताए। सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राजमन्त्री सरस्वती खड्काले अजयमेरु कोटजस्ता अन्य थुप्रै ऐतिहासिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा आफु लागिपर्ने बताइन।

अजयमेरु गाउँपालिकाको करिब ९० लाख बराबरको बजेट तथा पुरातत्त्व विभागको बिज्ञ टोलिबाट कोटको उत्खनन भैरहेको छ|
