नेपाली कांग्रेस (विपी) डडेल्धुराको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम डडेल्धुरा सदरमुकाममा मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधनगर्दै विपी कांग्रेसका नेता प्रतिनिधी सभाका उम्मेदवार कर्णबहादुर मल्लले वैकल्पिक राजनीतिक शक्तिहरुको उदय हुन नसक्दा ठुला राजनीतिक दलहरुको मनपरितन्त्र मौलाएको बताए । संसदका दुई ठुला राजनीतिक दलहरु नेपाली कांग्रेस र एमालेको नेतृत्वमा शक्तिशाली सरकार गठन भए पनि आम नागरिकको जीवनस्तरमा सुधार ल्याउने र लोकतन्त्रको अनुभूति दिने काम हुन नसकेको उनले जिकिर गरे ।
भ्रष्टाचारीलाई संरक्षण गर्न बर्तमान सरकार गठन भएको कुरा सरकारका हरेक कृयाकलापबाट पुष्ठी भइरहेको दाबीगर्दै उनले लोकतान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रिय स्वाधिनता र राष्ट्रियता खतरामा परेकाले हरेक नेपालीले एकतावद्ध भएर मुलुक जोगाउन उभिनुपर्ने बेला आएको बताए ।
राजनीतिका नाममा नातावाद र परिवारवाद हावी हुँदा इमानदार राजनीतिकर्मीहरु पाखा लाग्न थालेको जिकिरगर्दै उनले शिर्ष नेताहरुका अधिनायकवादी कृयाकलापका कारण ठुला भनिएका राजनीतिक दलहरु प्रति जनवितृष्णा बढ्दै गएको र नयाँ राजनीतिक शक्तिहरुले पनि जनभावनाअनुरुप काम गर्न नसक्दा मुलुकबासीहरुमा निराशा बढ्दै गएको बताए ।
कार्यक्रममा धारणा राख्दै विपी कांग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद भट्टले मुुलुकको सबैभन्दा पुरानो र ठुलो दल कांग्रेस पटक पटक सत्तामा पुग्ने र सो पार्टीका सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बन्दा पनि सात पटक मतदान गरेर विजयी गराउने डडेल्धुराबासीहरुको जीवनस्तरमा कुनै किसिमको सुधार आउन नसकेको बताए ।
विपी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले सुदूरपश्चिम प्रदेश अथाह सम्भावनाले भरिपूर्ण भए पनि अझै अवकसित र अवशरविमुख रहनुका पछाडी नेताहरुमा दुरदर्शिताको अभाव रहनु मुख्य कारण भएको बताए । निर्वाचित नेताहरुले राजधानी काठमाण्डौंमा घर बनाउने र आफ्नो ठाउँलाई भुल्ने प्रवृति बढ्दै गएकाले यँहाको विकास ओझेलमा परेको दाबी गरे ।
विपी कांग्रेस डडेल्धुराका सभापति भरत नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी जिल्लास्तरीय नेता कार्यकर्ताहरुले जिल्लामा विकास निर्माणका कार्यक्रमहरु ठप्प रहेको र घुस नदिएर कुनै पनि काम हुन नसक्ने अबस्था रहेको गुनासो गरेका छन । विपी कांग्रेससँग आवद्ध डडेल्धुराका नेता कार्यकर्ताहरुलाई सत्ता र शक्तिको आँडमा अन्याय भइरहेको बताउँदै संगठन सुदृढ बनाएर अन्यायका बिरुद्ध संघर्ष गनुपर्ने बेला आएको कार्यक्रमका सहभागीहरुले सुझाएका छन ।
कार्ययोजना बनाएर जिल्लाव्यापी र देशव्यापी रुपमा संगठन विस्तार गर्नुपर्ने औल्याउँदै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले मुलुक विषम परिस्थितिमा रहेका बेला आमनागरिकलाई संगठित बनाएर राष्ट्रियता र लोकतन्त्रको संरक्षण गर्दै जननायक विपी कोइरालाको सिद्धान्त अनुसार मुलुकमा समाजवादी व्यवस्था ल्याउन विपी कांग्रेस क्रियासिल हुनुपर्ने सुझाव दिएका छन ।