नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनबिच भएको एमसीसी सम्झौता खारेज हुनुपर्ने बताएका छन्। सोमबार एमसीसी खारेज अभियानद्वारा आयोजित अन्तरक्रियामा बोल्दै नेता पोखरेलले उक्त कुरा बताएका हुन्।
नेता पोखरेलले भने, ‘‘हाम्रोजस्तो भूराजनीति भएको मुलुकमा विदेश अनुदान लिँदा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ। ५० करोड डलरभन्दा देशको स्वाभिमान ठूलो कुरा हो। मेरो विचारमा एमसीसी सम्झौता संशोधन गरेर पनि लागू हुन सक्दैन। स्पष्ट रुपमा भन्दा यो खारेज नै हुनुपर्छ।’’
पोखरेलले अमेरिकी अधिकारीहरुले एमसीसी सम्झौता इन्डोप्यासफिक रणनीतिको अंग भएको स्पष्ट पारिसकेको अवस्थामा सम्झौता संशोधनले पनि राष्ट्रिय हितको रक्षा गर्न नसक्ने बताए। उनले भने, ‘‘अमेरिकी अधिकारीहरुले नै एमसीसी इण्डोप्यासफिक रणनीति (आइपिएस) को अंग भएको बताइसकेका छन्। यस्तो परिस्थितिमा यसलाई संशोधनतिर लाग्नुभन्दा खारेजको स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्छ।’’
पोखरेलले एमसीसी सम्झौता लागू भएमा नेपाल नवऔपनिवेशिक राष्ट्र हुने बताए। उनले भने, ‘‘हामी स्वाधीन राष्ट्र निर्माणको अभियानमा छौं। तर, एमसीसी लागू भएमा त्यो स्थिति रहँदैन। नेपाल नवऔपनिवेशिक दिशामा जान्छ। त्यो खतराबाट देशलाई बचाउनुपर्छ।’’
कार्यक्रम नेकपाका नेता नारायण शर्मा, अभियान्ता साध्यबहादुर भण्डारी, परशुराम तामाङ, प्रा.डा. शम्भु कट्टेल लगायतले एमसीसी सम्झौताको खारेजीको पहल गर्नुपर्नेमा जोड दिएका थिए।