अब एसिड आक्रमणकारीलाई हदैसम्मको कारबाही हुने भएको छ । एसिड आक्रमणकारीलाई २० वर्षसम्म कैद सजाय दिलाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको छ ।
एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार गराउने व्यवस्था सरकारले मिलाउने भएको छ । अध्यादेश केही दिनमा नै राजपत्रमा प्रकाशित गरिने भएको हो। तेजाव आक्रमणको प्रकृति हेरी सजाय गरिनेछ । एसिड आक्रमणकारीलाई पीडितको अङ्गमा भएका क्षतिअनुसार सरकारले २० वर्षसम्म सजाय हुने गरी अध्यादेश ल्याउन लागेको हो । तेजाव आक्रमणलाई यसअघि नै फौजदारी कसुरमा राखे पनि यस पटक भने अध्यादेशमार्फत अझ प्रस्ट पारेर सरकारले अध्यादेश ल्याउन लागेको हो।
एसिड आक्रमणबाट कसैको संवेदनशील अंगमा क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई २० वर्ष कैद र दस लाख रूपैयाँ जरिवाना हुनेछ,’ अध्यादेशमा भनिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको उक्त अध्यादेश सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकवाट पारित गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जारी गरिनेछ।
एसिडबाट अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति अनुसार १० बर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।
तेजाव आक्रमणको प्रयास गरेको आरोपमा मात्रै पीडकलाई कारवाहीको दायरामा राखिएको छ। ‘कुनै काम गर्न खोज्दा सबन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यस्तो व्यक्तिवाट उम्किएमा त्यस्तो काम गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसुर गर्न उद्योग गरेको मानिनेछ र सो वापत १० वर्षसम्म कैद र पाँचलाख रुपैयाँसम्म जरिवाना हुनेछ’ अध्यादेशमा भनिएको छ ।