हिन्दु नेपालीहरुको महान चाड बडादशैँको सातौ दिन आज देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ ।आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
नेपाल पञ्चाङग निर्णायक समितिले आज बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ ।
आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देवीको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चनबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको छ ।
घटस्थापनाका दिन देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुरुज्युको पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने चलन छ ।
तर यसपटक भने कोरोना संक्रमणको जोखिमका कारण चाडवाड मनाउँदा सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सरकारले आह्वान गरेको छ भने शक्तिपीठहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजा गर्न रोक लगाएको छ ।