जब जेठ ३ गते आउँछ, नेपाली राजनीतिक रंगमञ्चको इतिहासमा २०५० साल जेठ ३ गतेको सम्झना आउँछ। नेपाली वामपन्थी आन्दोलनका हस्ती मदन भण्डारीको अवसान भएको २७ वर्ष पुगे पनि उनको मृत्यु भवितव्य थियो कि कर्तव्य ? भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ।
सिमसिम पानी परिरहेको बेला एउटा जीपमा सवार एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगास्थित त्रिसुली नदीमा खसेको थियो। रहस्यमय जीप दुर्घटनाको संज्ञा पाएको सो घटनाको अहिलेसम्म यथार्थता बाहिर आउन सकेको छैन।
भण्डारी र आश्रितको रहस्यमय मृत्युबारे धेरै बहस भइसकेको छ। त्रिसुलीमा यो २३ वर्षभित्र धेरै पानी बगिसक्यो। तर सो रहस्यमय घटनाको सत्य बाहिर आउन सकेको छैन। यसबेला उनै भण्डारीकी श्रीमती यो नेपालको राष्ट्रप्रमुख र उही पार्टी एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका छन्। तर भण्डारी र आश्रितको रहस्यमय हत्याकाण्डको यथार्थ रिपोर्ट बाहिर ल्याउने सुरसार देखिँदैन। यो सवालमा सबैले घचघच्यान जरुरी देखिएको छ।
मदन भण्डारी उक्त घटना हुनुभन्दा केही दिनअघि मात्र एमाले कास्की जिल्लाको तेश्रो अधिवेशनको उद्घाटन गर्न पुगेका थिए। एमाले कास्की जिल्लाको तेश्रो अधिवेशन जेठ २ गते गरेर उनी भोलिपल्ट अर्थात् जेठ ३ गते चितवन फर्किने क्रममा दासढुंगामा जीप दुर्घटना भएको थियो। उनी सवार जीपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र एकजना चालक थिए।
चालक अमर लामाको २०५९ सालमा अज्ञात समूहले राजधानीमा हत्या गरिसकेको छ। मदन भण्डारीसँग सो घटना हुनुभन्दा अघिका ती महत्वपूर्ण २ दिनमा के–के कुरा भएका थिए र चालक अमर लामाले समेत गरेका गतिविधिका बारेमा ९ वर्षसम्म न त नेपाल सरकारले गम्भीर अनुसन्धान गरेको देखियो, न त एमालेले नै अमर लामा र दुई नेताबीच ती ४८ घण्टाभित्र भए, गरेका गतिविधिबारे अनुसन्धान गर्यो।
दुःखको कुरा त के छ भने भण्डारी र आश्रितको अनुसन्धानका लागि लगिएका अस्तुहरु समेत विदेशबाट नफर्काइएका रिपोर्टहरु बाहिर आइरहेका छन्। यदि भण्डारी र आश्रितको रहस्यमय हत्या नै भएको भए किन वास्तविक रिपोर्ट बाहिर आएन ? यदि रहस्यमय हत्या भएको थिएन भने अमर लामाको समेत अज्ञात समूहले किन हत्या गर्यो ?
सायद, यदि मदन भण्डारी र आश्रितको रहस्यमय मृत्यु नै भएको थियो भने दुई नेताहरुलाई त्रिसुलीमा बगाएर आफू बाँचेको लामाले गरेका गतिविधिहरु के–के थिए ? भण्डारी र आश्रितले के–के कुरा गरेका थिए। प्रभावशाली नेताहरुविरुद्ध कुनै बाहिरी वा आन्तारिक शक्ति केन्द्रले षडयन्त्र गरिरहेको थियो भने केही न केही संकेतहरु आउनुपर्ने वा नआए पनि नेतृत्व जतिबेर पनि सतर्क हुनुपर्ने हो, ती सबालमा आफ्नो विश्वासयोग्य चालकले अघिल्लो सिटमा बसेर पछाडिका कुराहरु सुनिरहेकै हुन्छ।
कास्की जिल्ला अधिवेशनदेखि चितवनसम्मको यात्राबीचको गम्भीर अनुसन्धान गरिएको भएमात्र यति ठूलो षडयन्त्रको पर्दाफास हुनसक्ने धेरैको अनुमान छ।
करिब ९ वर्षसम्म जिउँदो रहेका लामाको समेत रहस्यमय मृत्यु भएपछि यो थप रहस्यमय भएको छ। अनुमान के गरिन्छ भने भण्डारीको हत्या हुनुमा अन्र्तराष्ट्रिय शक्तिकेन्द्रको समेत हात रहेको थियो। यदि त्यसो हो भने त्यसको कार्यान्वयन पक्ष त जीप चलाउने चालकमा समेत आइपुगेको थियो।
यो बारेमा मदन भण्डारीकी पत्नी अर्थात् हाल नेपालकी राष्ट्रपति विद्या भण्डारी र सोही पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका छन्। भण्डारी र आश्रितको अस्तुसमेत नष्ट गरिएको भन्ने समाचारहरु बाहिर आएका छन्। यसको वास्तविक रिपोर्टको पर्खाइमा नेपालीहरुले २७ वर्ष खर्चिसकेका छन्। तर, पनि यसबारे नेताहरु सम्वेदनशील भएको देखिँदैन।
भण्डारीको राष्ट्रवादी छविका कारण नियोजित रुपमा उनको हत्या गरिएको विश्लेषण गर्नेहरु धेरै छन्। आज मदन भण्डारी फाउण्डेसनले भण्डारीका योगदानहरु संस्थागत गर्न विविध कार्यक्रम छ। फाउण्डेसनका नामबाट धेरै कामहरु गरिएका छन्। तर, उनको मृत्यु भवितव्य थियो कि कर्तव्य भन्नेबारे खोजविनको काम गरिएको छैन। भण्डारीका योगदानको चर्चा गर्ने फाउण्डेशनले घटनाको सत्यतथ्य छानविनको दवावका लागि अग्रसरता देखाउला ? योचाहिँ अहिले पनि निरुत्तरित प्रश्न नै छ।
को हुन् जननेता भण्डारी ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भयो।
२०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा सर्यो। उनी भारतको मथुरामा अध्ययन गर्न गए। दुई वर्ष मथुरामा बिताएपछि २०२८ मा देहरादुनबाट बनारस पुगेका भण्डारीले २०२३ सालमा बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरे।
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेका हुन्। २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण गर्यो। त्यसको अध्यक्षमा युद्धप्रसाद मिश्र र महासचिव मोदनाथ प्रश्रित थिए भने भण्डारी केन्द्रीय सदस्य थिए। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।
अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको विद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत् नवीन चिन्तनको विकासले उनलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिकर्मीसँग नजिकिने वातावरण बनायो। २०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण गरियो। त्यसको निर्माणमा सक्रिय रहेका नेताहरू पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले) को स्थापना हुनुभन्दा पूर्वको ‘को-अर्डिनेशन केन्द्र’मा आवद्ध भई मुक्तिमोर्चा समूहलाई त्यसमा समायोजन भयो। २०३५ सालमा नेकपा (माले) स्थापना भयो र उनी केन्द्रीय सदस्य बने।
२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले) को चौंथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले र मार्क्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को महासचिव बने। २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवं अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं.–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।
बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिनपछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बने पनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।
(स्रोत : विकीपिडिया र अन्य न्यूज पोर्टल।)