विश्व नै कोभिड–१९ अर्थात कोरोनाले आक्रान्त रहेको बेला हाम्रो स्थानिय सरकारको रुपमा तपाईहरुले के कस्तो भूमिका खेलिरहनु भएको छ । धेरै थाहा छैन । तर बाहिर आएका जनगुनासा अहिलेको विश्वव्यापी महामारी फैलिरहेको सन्दर्भमा तपाईहरु लाई केहि भन्न मन लागेर यस बिषयमा तपाईहरु लाई सहयोग होस भन्ने उदेश्यले केहि लेख्न गइरहेको छु ।
यस लाई फगत औपचारिकता नबुझी एउटा शुभचिन्तकको सुझावको रुपमा बुझि दिनुहोला । किनकी मलाई आलोचना कसरी गर्न सकिन्छ भन्ने सोच बिल्कुल छैन । तपाईको राजनीतिक कमजोरीको कसरी फाइदा लिन सकिन्छ भनि कमजोरी केलाउदै जाने सोच पनि कदापी होइन । तर एउटा आफ्नो देश लाई माया गर्ने र आफ्नो ठाउँ लाई माया गर्ने सचेत नागरीकको हैसियतले केहि कुरा नलेखी रहन सकिन ।
म तपाईहरु बाट भौतिक रुपले एकदमै टाढा छु । जहाँ म छु त्यहाँ भौतिक रुपले धेरै सम्पन्न छ । भने हाम्रो देशको अवस्था सबै लाई थाहा भएकै कुरा हो । यस अर्थमा मैले म बस्ने देश र मेरो देशको तुलना कदापी गर्न खोजेको होइन । मैले त मेरै देशमा अझै मेरो आफ्नो स्थानिय ठाउमा गर्न सकिने कुरा मात्र गर्न चाहेको हो ।
तपाईहरु सँग अरु कुराहरु अरु बेला गरौला । यो बिलकुल आलोचना गर्ने कमजोरी केलाउने भन्दा सबैले मिलेर समस्या समाधान गर्ने समय हो । अहिले विश्व नै कोभिड–१९ अर्थात कोरोनाको महमारिले आक्रान्त छ ।
म यही प्रशङ्गमा केहि कुरा गर्न चाहन्छु
म बस्ने देश अमेरिकामा मैले यो लेख्दै गर्दा ४० हजार हाराहारी मान्छेहरुले ज्यान गुमाई सकेका छन । भने ६ लाख हाराहारी व्यक्तीहरु यसबाट ग्रसित भई कोरोनासँग प्रत्यक्ष लडिरहेका छन । तर सुखद कुरा हाम्रो देशमा धेरै प्रभावित छैन । भलै उच्च जोखिम छ । अहिले सम्म अन्य देशको तुलनामा कम प्रभावित हुनुका धेरै कारण होलान । हामी अहिले सम्म कम प्रभावित नै भए पनी एकदमै जोखिममा चाहिँ छौ । सरकारले गरेको लकडाउनले पक्कै पनि जोखिम घटाउन सहयोग गरेको छ । यसका बावजुद हामी जोखिममा छौ । अब यसलाई कसरी घटाउन सकिन्छ । भन्ने कुरा सोच्नु सरकारको जिम्मेवारी प्रमुख हुन आउछ । सरकारको अर्थ सङ्घिय अथवा प्रान्तिय सरकार मात्र होइन । त्यो भन्दा बढी महत्वपुर्ण स्थानिय सरकार छ । गाउ गाउमा सिंहदरबार भन्ने नारा साच्चै सार्थक बनाउने जिम्मेवारी तपाईहरुको काधमा आएको छ ।
आज देश बिदेश बाट सबै मान्छेहरु नेपाल जान चाहन्छन । नेपाल मात्र होइन आफ्नो गाउँ जान चाहान्छन । त्यसको एउटै कारण हो सुरक्षा । कोरोना बाट बच्न । यो कुरा सत्य पनि हो । कि विश्वको तुलनामा नेपाल सुरक्षित नै छ । त्यसमा पनि हाम्रा गाउँ ठाँउ अझै सुरक्षित छन । कम्तिमा अहिले सम्म बढी सुरक्षित नै छ । तर यो सधैं कोरोना बाट सुरक्षित नै हुन्छ भन्ने छैन । यसलाई सुरक्षित राख्न सबै नागरिकको जिम्मेवारी हो । तर त्यसमा पनि तपाईहरु राज्यको निकाय भएको नाताले बढी नै उत्तरदायित्व लिनु पर्ने ठाउँमा हुनु हुन्छ ।
जोखिमको कुरा गर्दा सबै भन्दा बढी जोखिम कहाँ छ त ? चिनको वुहान बाट सुरु भएको कोरोना अहिले संसारका बिभिन्न देशमा पुगि सकेको छ । अझै अमेरिका, इटली, स्पेन, बेलायत, जर्मनी, फ्रान्स लगायतका देशमा एक दमै ठूलो रुपमा फैलि सकेको छ । तर हाम्रो देशमा अझै ठुलो रुपमा फैलि नसकेको अवस्थामा हामिले आधारभूत सुरक्षा अपनाउन सक्यौ भने कोरोना बिरुद्धको युद्ध जित्न सकिने सम्भावना प्रशस्त छ । यस परिपेक्षमा तपाईहरुले केहि कुरामा बढी जिम्मेबार हुनु भयो भने अझै हाम्रा गाउँ ठाउ लाई यस बाट बचाउन सकिन्छ । अहिले देश नै लकडाउन भएको अवस्थामा संक्रमित गराउने भनेको बाहिर बाट आउने व्यक्ति बाट हो । यसको अर्थ यो होइन कि बाहिर बाट आउने संक्रमित नै हुन्छन । तर बाहिर बाट आएका मध्ये कसैमा संक्रमण रहेछ भने त्यसले फैलाउन सक्छ भनेर सावधानी अपनाउनु जरुरी छ ।
देश पुरै लकडाउनमा छ । यस्तो अवस्थामा पक्कै पनि काम गर्नु त्यती सजिलो छैन । तर पनि स्थानिय निकाय त्यहाँका नागरिकको लागी पुरा राज्य हो । त्यसर्थ राज्य हुनुको दायित्व अप्ठ्यारो पर्दा नागरिकको समाधानका लागि केहि गर्नु पर्छ । यस सन्दर्भमा कतिपय स्थानिय तह नगरपालिका/गाउँपालिकाले वितरण गरिएका मास्कको बारेमा सामाजीक संजालमा निकै बिरोध पनि भयो । यस बिरोधको कुरा गर्दा बिरोधको लागी गरिएको बिरोधको रुपमा मात्र बुझ्नु गलत हुनेछ । हो, केहि व्यक्ती आग्रह पूर्वाग्रहको आधारमा जहिले पनि बिरोध गर्न उद्दत छन । हाम्रो नेपाली समाजको चरीत्र पनि यस्तो देखिन्छ । तर यसको अर्थ बिरोध गर्नु हुँदैन भन्ने पनि होइन ।
तथ्यगत आधारमा राज्यको जिम्मेवार पदमा बसेकाहरुको आलोचना गरी सही कुरा स्थापित गराउन खोज्नु अथवा गलत हुन बाट सचेत गराउनु सचेत नागरिकको दायित्व पनि हो ।
त्यसकारण कहाँ के गल्ती भए त्यसको समिक्षा भोली गरौला । तर अहिले तपाईहरुले तत्कालको समस्या नियन्त्रणका लागी काम गर्नु पर्ने ठूलो दायित्व छ । धेरै जिम्मेबार प्रतीनिधीहरुमा कोरोना सर्ने कारणले आफ्नो नजिक क्वारेन्टाइन बनाउन डराएको कुरा आए । शिक्षित भनिने ब्यक्तीहरुले स्वास्थ्यकर्मीलाई घरबाट निकालेका कुरा आए । जुन अस्वाभाबिक छ । अनि कोरोनाबारे अप्रयाप्त बुझाईलाई प्रष्ट पार्दछ ।
भाईरस जीवित प्राणी भन्दा बाहिर धेरै लामो समय बाच्नै सक्दैन । त्यसैले कुनै व्यक्तिलाई क्वारेन्टाईनमा राखेको ठाउँमा केहि समय पछि भाईरस स्वतः नष्ट हुन्छ । सहि तरिका अपनाएर सफा गरे पछि त्यहाँ भाइरस रहने कुरै हुँदैन ।
अब स्थानिय निकायको सन्दर्भमा तपाईहरुले के गर्नु भएको छ ? के गर्नु पर्छ ? जसले स्थानिय निकायलाई कोरोनाबाट मुक्त राख्न सकिन्छ । भन्ने प्रश्न आउछ । महिना दिन अगाडी देखी केहि मान्छेहरु इण्डियाबाट नेपाल आएका देखिन्छन र उहाँहरुलाई होम क्वारेण्टाईनमा बस्न तपाईहरुले फेसबुकबाट गरेको आग्रहले मात्र अब हामी यस कोरोना बिरुद्धको लडाइ जित्न सक्दैनौ । अब केहि गर्नु पर्छ । जसबाट हाम्रो समुदायलाई बचाउन सकियोस । सम्भवतः त्यतिबेला जोखिम कम थियो होला तर अब आउने समय अझै बढी जोखिम हुन सक्छ । त्यसर्थ अब अझै बढी सजग हुन जरुरी छ । यो समय सबै एक जुट हुने बेला हो । यो हाम्रो समुदाय हाम्रो देशको मात्र होइन । मानवकै अस्तित्व जोगाउने बेला हो । व्यक्तिगत आग्रह पुर्वग्रह, राजनीति जस्ता कुरा भन्दामाथि उठेर मानव जातिको अस्तित्वका लागि केहि गर्ने बेला हो । म आफु पनि संसारकै बढी कोरोना प्रभावित अमेरिका र अझै अमेरिकाको न्यूयोर्कमा छु । र नेपाल अनि हाम्रो स्थानिय निकायमा भैरहेका पछिल्ला घटनाक्रम, समुदायमा कोरोनाको त्रास, यस बारेका गलत बुझाई र केहि हदसम्म स्थानिय निकायको गतिबिधी लाई नियालिरहेको सन्दर्भमा केहि सल्लाह सुझाव तथा गर्न सकिने कामको बारेमा केहि आफ्ना बिचार बुदागत रुपमा राख्न चाहन्छु ।
स्थानिय निकायको रुपमा गर्न सकिने कार्यहरुलाई निम्नानुसार गर्न सकिन्छ
१) सर्वप्रथम तपाईहरु सबै जिम्मेवार व्यक्तीहरुले कोरोनाको बारेमा आधिकारिक बिज्ञ बाट सही जानकारी सूचना लिइ कोरोना बारे स्पष्ट हुनु जरुरी छ । जबसम्म तपाईहरु नै यस बारेमा सही रुपले सु–सूचित हुनु हुन्न कसरी जनतालाई सहयोग गर्ने ? त्यसर्थ फेसबुकमा आएका अनाधिकृत सूचना बाट मात्र होइन सही सुचना लिएर यस बारे स्पष्ट हुनु जरुरी छ । आवश्यक परे यस सम्बन्धी बिज्ञ डाक्टरहरु बाट सही जानकारी गराउनका लागी समन्वय गर्न सहयोग गर्ने जानकारी गराउदछु ।
२) यो अहिले चलिरहेको महामारी तत्कालमा नियन्त्रणमा आउने सम्भावना कम भएकोले केहि महिना अनि बर्ष दिन सम्म पनि यसलाई कसरी आफ्नो ठाउँमा व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाउनु जरुरी छ ।
३) यो बिपत भएकोले योजना बनाउने छलफल गर्ने जस्ता कुरा भन्दा पनि तत्कालै काम गर्नु पर्ने भएकोले आवश्यक छ । छलफल गर्दा फेसबुक ग्रुप, कल तथा फोन कल बाट सल्लाह छलफल गरी तत्कालिन योजना बनाई काम गर्न सकिन्छ ।
४) प्रत्यक वडामा समान्वय गरी वडा स्तरमा नै कोरोना बिरुद्ध कसरी लड्न सकिन्छ भन्नका लागी प्रतीनिधीहरु र स्वास्थ्यकर्मी सम्मिलित सङ्यन्त्र बनाइ काम गर्न सकिन्छ । सब भन्दा पहिले क्वारेन्टाईनका लागी अवश्यक पूर्व तयारी गरी छिटो भन्दा छिटो टीम बनाई काम थालनी गर्न सक्यो भने राम्रो हुन्छ । यसको लागि गम्भिर भएर लागिहालौ । कत्ती पनि ढिला नगरि आजै भोली नै सबै वडा प्रमुख सहित स्वास्थ्य सस्था, स्थानिय निकायका जिम्मेवार प्रतीनिधीहरुको मीटिङ गरी सुरुवात गर्नु भयो भने त्यसले परिणाम ल्याउन सक्छ । जती ढिला भयो त्यती नै जोखिम बढ्ने निश्चित छ ।
५) योजना बनाउदा स्थानिय निकायमा बाहिर बिशेष गरी ईन्डियामा रहनु हुने सम्पुर्ण ब्यक्तीहरुको तथ्याङ्क भए सजिलो हुन्थ्यो । त्यो सायदै होला । तर पनि अनुमानित कती जना आउन सक्छन भनेर त्यति जनालाई भोली आउँदा क्वारेन्टाईनको व्यवस्था कसरी गर्न सकिन्छ ? भन्ने तर्फ सोच्नु जरुरी छ । सबै लाई होम क्वारेण्टाईनमा राख्दा भोली बढी सङ्ख्या हुँदा सुरक्षित नहुने अवस्था नि हुन सक्छ । त्यसर्थ त्यसको लागि पूर्व तयारी आजै अहिले नै गर्न सकियो भने सजिलो हुन्छ । मे महिनाको पहिलो हप्ता सम्म लम्बिएको भारतको लकडाउन खुल्यो भने ईन्डिया बाट ठूलो सङ्ख्यामा हाम्रा दाजुभाई नेपाल आउने निश्चितप्राय छ ।
६) स्थानिय निकाय कती जनालाई राख्न सकिन्छ । त्यस बाहेक अरु उपयुक्त कुन ठाउँ हुन सक्छ। त्यसको लागी आवश्यक बजेट कती लाग्छ ? सरकारले पुरै व्यहोर्न सकियन भने अन्य ठाउँ बाट पनि सहयोग जुटाउन सकिन्छ । आउने २÷३ महिना सरकार ले गर्ने विकास निर्माणका कामहरु गर्न नसकिने लगभग निश्चित छ । यस्तो अवस्थामा अन्य बजेटलाई रकमान्तरण गरी यस विपतको अवस्थामा प्रयोग गर्नका लागि पनि आवश्यक तयारी गर्नु उपयुक्त हुन्छ । साथै सम्बन्धित व्यक्तीले पनि त्यसको लागी सहयोग गर्न सक्छ र मैले ईण्डियामा रहने धेरै जना सँग कुरा गर्दा यसमा सकारात्मक पाएको छु । तत्काल यसबारे योजना बनाई अगाडी बढ्नु जरुरी छ ।
७) अझै प्रत्यक वडामा नै यसको व्यवस्था हुन सक्यो भने सजिलो पनि हुन्छ । र यसले सम्बन्धित क्वारेण्टाईनमा बस्ने व्यक्तीले गर्ने सहयोगको लागी पनि सजिलो हुन्छ । जस्तै घर बाट लुगा कपडा त्यस्तै प¥यो भने खाने कुराको जोहो गर्न सक्छ । जसले राज्यलाई पनि भार कम पर्छ । काम गर्न पनि छिटो छरितो हुन्छ । बाहिर बाट आउने व्यक्तीहरुलाई स्वास्थ्यकर्मीको पहलमा जोखिम मापन बिधी बनाई त्यस अनुसार पनि बढी जोखिम भएका लाई बिशेष क्वारेन्टाईनको व्यवस्था गर्न सकिन्छ ।
८) अरु काम जस्तो जतिलाई सकिन्छ त्यती गरौ भनेर मात्र यो समस्या समाधान हुँदैन किनकी बाहिर बाट आएको एक जना सङ्क्रमित व्यक्तीले पनि उपयुक्त क्वारेण्टाईनमा बस्न छुट्यो भने त्यसले तपाईहरुले गरेको अरु काम उपलब्धी बिहिन बनाई दिन सक्छ । अर्थात एक जना सङ्क्रमित पनि क्वारेण्टाईन बाट बन्चित भयो भने त्यसले रोग फैलाउन सक्छ । तसर्थ बाहिर बाट आएका हरेक व्यक्तीलाई निश्चित समय क्वारेणटाईनमा राख्ने व्यवस्था गर्नु जरुरी छ ।
९) भाईरस जीवित प्राणी भन्दा बाहिर धेरै लामो समय बाच्नै सक्दैन । त्यसैले कुनै व्यक्तिलाई क्वारेन्टाईनमा राखेको ठाउँमा केहि समय पछि भाइरस स्वतः नष्ट हुन्छ । सहि तरिका अपनाएर सफा गरे पछि त्यहाँ भाईरस रहने कुरै हुँदैन । त्यसैले क्वारेन्टाईनको लागि बनाईएका संरचना होस वा स्कुल वा यस्तै सार्वजनिक ठाउँहरु लाई सजिलै क्वारेन्टाईन स्थल बनाएर संक्रमित बाट अरुमा सर्न सक्ने जोखिमको लागि पूर्व तयारी गर्न जरुरी छ ।
१०) बजेट छैन, ठाउँ मिल्दैन, मान्छेहरु कुरा बुझ्दैन्न । जस्ता कुरा गरेर अहिले जोखिम न्युनिकरणका लागी कार्य गर्न सकिएन भने यसले ठूलो जोखिम निम्याउन सक्छ ।
नागरिकले स्थानिय निकायलाई एउटा अभिभावकको रुपमा हेरेका छन । नागरिकलाई अप्ठ्यारो पर्दा नै राज्यले अभिभावकको रुपमा सहयोग गर्ने हो । स्थानिय निकाय आफैमा राज्य हो । तपाईहरु राज्यका जिम्मेवार व्यक्ती हुनुको अर्थ तपाईहरुले नागरिकको समस्यामा केहि गर्नु हो । यो विपतको घडिमा तपाईहरुको परिक्षा पनि हो र तपाईहरुले नागरिकलाई काम गरेर देखाउने अवसर पनि हो । कृपया यस विपतको घडिमा तपाईहरुले बुद्धिमानी तरिकाले नागरिक प्रतिको उत्तरदायित्व निभाउने उपयुक्त अवसर पनि हो । जुन गुमाउनु भयो भने फेरी तपाईले नागरिकहरुको विश्वास कहिले पाउनु हुन्न । म आशा गर्छु एउटा देशको माया गर्ने सचेत नागरिक हुनुको हैसियतले दिएको सल्लाह सुझावलाई मनन गरी आजै, अहिले नै तपाईहरुले पहलकदमी लिनु हुनेछ । र हाम्रो ठाउँ अनि त्यहाँका नागरिकको असल अभिभावकको रुपमा स्थापित हुनु हुनेछ ।
प्रिय जनप्रतीनिधीहरु तपाईहरुलाई सकारात्मक सुझाव दिनुको अर्थ कदापी औपचारिकता मात्र होइन । भित्र मनदेखी नै केहि गर्नु होस भन्ने भावना हो । म कोरोनाको राजधानी (जहाँ दैनिक हजारौ मान्छेहरु कोरोनाको कारण ज्यान गुमाइरहेका छन) मा छु । तर मेरो देश मेरो जन्मभुमी अप्ठ्यारोमा नपरोस भनेर तपाईहरु लाई बिन्ती गरेको हो । मलाई आशा छ तपाईहरुले पनि आफै यस बिषयमा गम्भिर भएर सोची रहनु भएको होला । तर मेरो सल्लाह सुझाव लाई पनि त्यसैमा थप्नु भयो भने त्यसले पक्कै केहि सहयोग गर्नेछ । यस बाहेक तपाईहरु लाई कोरोना सम्बन्धी उपयुक्त जानकारीका लागि बिज्ञहरुको आवश्यक परे पैसा नै छैन कसरी काम गर्ने भन्ने भए अथवा आवश्यक जनशक्ती छैन भन्ने छ भने त्यसका लागी सहकार्य गरी सहयोग गर्न म जस्ता धेरै नेपाली (कोही देश भित्र र कोही बाहिर छन) प्रत्यक्ष, परोक्ष रुपमा जहिले पनि तयार छन भन्ने मेरो बिस्वाश छ । ।
आशा छ बिषय वस्तुको गम्भिरता लाई बुझ्दै सकारात्मक रुपमा ग्रहण गरी हाम्रो समुदायका नागरिक लाई विपतको यस घडिबाट सुरक्षित राख्न उच्च नेतृत्वदायी भूमिका प्रदर्शन गर्नु हुनेछ । हरेक स्थानिय निकायले गर्दा देश र हरेक देशले गरेर नै विश्व लाई अहिलेको महामारी बाट बचाउन सकिन्छ ।
टेक बहादुर खड्का
आलिताल गाउपालिका–१, डडेल्धुरा
हालः न्यूयोर्क अमेरिका