प्रतिनिधिसभा विघटन गर्दा गिरिजाप्रसाद कोइरालाले ०५१ मा, मनमोहन अधिकारीले ०५२ मा र शेरबहादुर देउवाले ०५९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर, वर्तमान प्रधानमन्त्री ओलीले आफ्नै नेता मनमोहन अधिकारीको मार्ग पनि पछ्याएनन्, तर संविधानको धारा ७७ अनुसार उनी स्वतः कामचलाउ भएका छन् ।
संविधानको धारा ७७ भन्छ– प्रतिनिधिसभाको सदस्य नभएमा प्रधानमन्त्री पदमुक्त हुनेछन्, प्रतिनिधिसभा नै विघटन गरेर स्वतः कामचलाउ बनेका प्रधानमन्त्री केपी ओलीले प्रदेश सभामा निर्वाचन हारेकाहरूलाई मन्त्री बनाएका छन् । दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेकाले ओली पदमुक्त भएका छन् । कामचलाउ बनेपछि पनि उनले शुक्रबार भारी मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गरेर विगतमा जस्तै कार्यकारी अधिकार प्रयोग जारी राख्ने संकेत दिएका छन् ।
प्रतिनिधिसभा विघटन गर्दा गिरिजाप्रसाद कोइरालाले ०५१ मा, मनमोहन अधिकारीले ०५२ मा र शेरबहादुर देउवाले ०५९ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ‘तर, वर्तमान प्रधानमन्त्री केपी ओलीले आफन्ै नेता मनमोहन अधिकारीको मार्ग पनि पछ्याएनन्, उनले राजनीतिक नैतिकता देखाएनन्, तैपनि कानुनी रूपमा उनी कामचलाउ हुन्, किनकि संविधानले नै प्रधानमन्त्री हुन संविधानसभाको सदस्य हुनु अनिवार्य भनेको छ,’ पूर्वमहान्यायाधिवक्ताको जिम्मेवारीमा बसेका एक पूर्वकानुनविद् भन्छन् ।
तत्काल अर्को सरकार गठन नभएकोले कामचलाउ सरकारका प्रधानमन्त्री बने पनि ओलीले पूर्णकालीनजस्तै काम गर्न थालेकोमा पूर्वप्रशासक, कानुनविद् तथा राजनीतिक व्यक्तिहरूले आश्चर्य व्यक्त गरेका छन् । ‘चुनाव घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । अघिल्लो निर्वाचनले बनाएको संसद् नै भंग भएको छ । अर्को चुनाव हुन बाँकी नै रहेको अवस्थामा यो अन्तरिम सरकार हो, संक्रमणकालीन सरकार हो, कामचलाउ सरकार हो,’ पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्, ‘यसमा कुनै द्विविधा नै छैन । यस्तो सरकारले दूरगामी महत्वका विषयमा निर्णय गर्नुहुँदैन । नियमित प्रशासन चलाउने र निर्वाचन गर्ने मात्रै हो ।’
त्यस्तै, अर्का पूर्वमुख्यसचिव लीलामणि पौडेलको भनाइ छ, ‘संक्रमणकालीन सरकारले ठूला र आधारभूत निर्णय लिनुहुँदैन भन्ने मान्यता राख्छौँ । त्यसैले प्रशासनमा भएको अधिकारीले राजनीतिक नेतृत्वलाई सम्झाउने र अन्यथा गर्नबाट रोक्ने अभ्यास छ ।’ अधिवक्ता भीमार्जुन आचार्यले सरकार कामचलाउ भएकोमा कुनै द्विविधा नरहेको बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि अथवा प्रधानमन्त्रीले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्नुभएको छ, अब निर्वाचन सम्पन्न भएर अर्को सरकार नबनेसम्मको अवधिमा सरकार कामचलाउ हुन्छ,’ उनी भन्छन् ।
संसद् भंग र नयाँ निर्वाचन घोषणा भएपछि पनि सरकार कामचलाउ हुन्छ भन्नेमा दुनियाँमा कहीँ पनि अपवाद नहुने उनी बताउँछन् । ‘यस्तो आधारभूत संवैधानिक विषयलाई पनि कपटपूर्वक ढाकछोप गर्न खोजिएको छ, तर यो कामचलाउ सरकार भएकाले यसले निर्वाचन प्रयोजनका लागि काम गर्ने हो । दीर्घकालीन असर गर्ने र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम गर्नुहुँदैन,’ उनी भन्छन् । शुक्रबार मन्त्रिपरिषद् ठूलो मात्रामा पुनर्गठन गरिएकाले पनि त्यसलाई स्वाभाविक मान्न नसकिने उनी बताउँछन् ।
अधिवक्ता टीकाराम भट्टराईले संविधानबमोजिम सरकार स्वतः कामचलाउ भएको बताए । ‘प्रतिनिधिसभाको सदस्य नभएपछि स्वतः पदमुक्त हुन्छ प्रधानमन्त्री । दूरगामी महत्वका नियुक्ति, सिफारिस, बजेटजस्ता काम उहाँले गर्न पाउनुहुन्न,’ उनी भन्छन्, ‘अर्को नआउन्जेलसम्म मात्रै काम चलाउने सरकारले दूरगामी महत्वका नीतिगत निर्णय गर्न, नियुक्ति गर्न, सिफारिस गर्ने नैतिक र संवैधानिक अधिकार हुँदैन ।’ नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ यसअघिका प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्रीले पनि राजीनामा दिने परम्परा भएको स्मरण गर्छन् । ‘पहिला–पहिला के हुन्थ्यो भने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनसँगै राजीनामा गर्थे, तर अहिले प्रधानमन्त्रीले राजीनामा दिनुभएको छैन,’ उनी भन्छन्, ‘त्यसैले उहाँले मन्त्रिपरिषद् विस्तार गर्नु सामान्यजस्तै भयो ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार कामचलाउ नभएकाले पूर्ववत् जसरी कार्यकारी अधिकार प्रयोग गर्ने बताए । ‘अर्को सरकार बन्ने प्रक्रिया सुरु भइसकेपछि चाहिँ कामचलाउ हुने हो । त्यसैले सरकारले पूर्ववत् जसरी कार्यकारी अधिकार प्रयोग गर्दै आइरहेको थियो, त्यसरी नै गर्छ,’ उनी भन्छन्, ‘निश्चित अवधिपछि निर्वाचन आयोगले जब आचारसंहिता लागू गर्छ, त्यसपछि चाहिँ कतिपय काम सीमित हुन्छन् । अहिलेचाहिँ पूर्ववत् नै काम गर्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।