स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको बताउँदै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।
सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका छन् ।
“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्रि व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकूद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन,” उनले अपिलमा भनेका छन् ।
मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।