सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालिले अनुमति पाएको छ । याे त्यही कम्पनी हाे,जसले कमिसन नपाएकाे झाेकमा भाँजाे हालेकाले यसअघि आइसक्नुपर्ने खोप नेपाल आउन सकेन । औषधि व्यवस्था विभागले त्यसैलाई बुधबार अनुमति दिएको हो । त्यस्तै भारतमै उत्पादन भएको कोभ्याक्सिन खोप ल्याउनको लागि इमराल्ड फर्माले पनि अनुमति पाएको छ । विभागका प्रवक्ता सन्तोष केसीले दुवै कम्पनीलाई अनुमति दिएको पुष्टि गरे ।
‘उनीहरूले खोप ल्याउन पाउँछन् । ल्याएको मूल्य र खोप सेवा दिने शुल्कसहति बढीमा १० प्रतिशत नाफा लिन सक्छन्’, उनले भने । कोभिसिल्ड खोप नेपालमा प्रयोग भइसकेको छ भने कोभ्याक्सिन खोप नेपालमा प्रयोग भएको छैन । आपतकालीन प्रयोगका लागि विभागले अनुमति दिएको हाे ।
जसले खोप रोक्यो त्यसैलाई स्वीकृति
भारतले पहिलो चरणमा नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । लगत्तै सरकारले कोभिसिल्ड खोप नै खरिद गर्ने प्रकृया अगाडि बढायो । सरकार र सिरमबीच ४ डलर प्रति डोजमा २० लाख डोज खोप खरिद गर्ने सहमति भयो । जसअन्तर्गत १० लाख डोज खोप नेपाल आयो । खोपका लागि सरकारले ८० प्रतशित रकम भुक्तानी गरिसकेको थियो ।
रकम भुक्तानी गरे पनि सिरमले बाँकी १० लाख डोज खोप उपलब्ध गराउन आनाकानी गर्यो । कारण थियो एजेन्ट । मन्त्रालय स्रोतका अनुसार ती एजेन्ट सुरज वैद्य र विजय दुगड रहेका छन् । वैद्य र दुगड हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीसँग जोडिएका छन् । ‘खरिद ऐनमा ८० प्रतिशत एड्भान्स दिने व्यवस्था थिएन । मन्त्रिपरिषद्ले गाँठो फुकाएपछि पैसा तिरेर २० लाख डोज खरिद गर्ने सहमति भएको हो’, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘१० लाख डोज आएपछि सिरमका एजेन्ट (हुकुम)ले हामी ल्याउँछौं भनेर आए । एजेन्टलाई हामीले ८० प्रतिशत एड्भान्स दिन सकेनौं ।’
मन्त्रालय स्रोत भन्छ, ‘सरकारले एजेन्टलाई ८० प्रतिशत एड्भान्स नदिँदा खोप ल्याउन ढिलो बनाउने कोसिस गरेको हो । जसले गर्दा बाँकी आउनुपर्ने १० लाख डोज खोप पनि आएन ।'
‘खरिद ऐनमा २० प्रतिशत भन्दा एड्भान्स दिन मिल्दैन । सिरमले डिलर (एजेन्ट)लाई शत प्रतिशत रकम मागेको थियो । नियमअनुसार सरकारले २० प्रतिशत दिँदा एजेन्टले ८० प्रतिशत हाल्नुपर्ने भयो’, स्रोतले भन्यो ‘त्याे रकम नपाएपछि एजेन्टले खोप ल्याउनमा भाँजाे हाले ।’
एजेन्ट र भारतमा बढेको संक्रमणका कारण अहिलेसम्म खोप नआएको मन्त्रालय स्रोत बताउँछ । ‘एजेन्टले ढिला बनाउन भूमिका खेले । पछि भारतमा संक्रमण बढ्यो । आफ्ना नागरिकलाई प्राथमिकतामा राखेकाले अरु देशले खोप पाएनन्,’ स्रोतले भन्यो । एजेन्ट घुसेपछि थप ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया रोकिएको हो ।