सुदूरपश्चिमको डडेल्धुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डोटीलगायत जिल्लाका उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।
विशेषगरी डडेल्धुरा,बाजुरा, बझाङ, बैतडी दार्चुलाका विभिन्न क्षेत्रमा रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपी हिमाल, न्वालपानी, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको छ त्यसैगरि डडेल्धुराको बागबजार,तुफानडांडा,खलगा,भात्काडा, साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे,अनारखोलि, बझाङका धेरैजसो क्षेत्रहरुमा भारी मात्रामा हिमपात भइरहेको छ।
त्यस्तै, ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा–२ को राप्ला, दुम्लिङ, वडा–४ को सुन्सेरा, डोकट, वडा–५ को धौलाकोट, वडा–६ को हुतीलगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिकाका स्थानीयहरुले ले बताएका छन ।
स्थानियका अनुसार कालापानी नजिकको क्षेत्र वडा–१ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँले खानेपानीका पाइपहरू जाम भएका छन् भने शौचालय जानसमेत समस्या भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् ।
हिमपातका कारण बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भइरहेको छ ।
डोटीको गैरा, डडेल्धुराको साहुखर्क, हगुल्टे लेक लगाएतको क्षेत्रमा भारी हिमपात भइरहेको छ । हिउँ परेपछि सडक अवरुद्ध भएका छन् । सडक सुचारु गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।