सहयात्री माओवादी र एकीकृत समाजवादीले विपक्षमा उभिने स्पष्ट पारे पनि प्रधानमन्त्री शेरबहादुर देउवा संसद्बाट एमसिसी सजिलै पास हुनेमा विश्वस्त छन्। सरकारले बुधबार बस्ने संसद् बैठकमा एससिसी टेबुल गर्ने योजना बनाएको छ।
सभामुख अग्नि सापकोटाबाट कुनै अवरोध नहुनेमा प्रधानमन्त्री देउवा ढुक्क छन्। किनभने, सरकारले ल्याएका बिजनेस सभामुखले रोकटोक गर्न सक्ने व्यवस्था छैन।
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाको भनाइ थियो, ‘‘एमसिसीलाई जो सरकारमा आए, उहाँहरूले नै निरन्तरता दिएको हो। यो नयाँ होइन। अब यसलाई सेफल्याडिङ गर्नुपर्छ। सदनमा पेस गरेर त्यहीँ वारपार गरौँ। त्यसका लागि वातावरण बनाउन प्रतिपक्ष मनाउन मैले पनि पहल गरिरहेको छु।
संसद्मा उपस्थित सदस्य संख्याको बहुमतले एमसिसी पास गर्न सक्छ। ९८ सिट रहेको एमालेले समर्थन गरे प्रस्ताव सजिलै पास हुन्छ। किनकि कांग्रेससँग ६१ सांसद छन्। निर्णय प्रक्रिया हुँदा माओवादी र एकीकृत समाजवादीका सांसदले बैठक बहिष्कार गर्ने र एमालेका केही सांसद मात्रै बैठकमा उपस्थित हुने प्रधानमन्त्री देउवाको बुझाइ छ।
एमालेका सबै सांसद बैठकमा उपस्थित भएर विपक्षमा उभिँदा वा तटस्थ बस्दा बहुमत नपुग्ने हुन्छ। त्यसैले, एमालेले थोरै सांसदलाई मात्र बैठकमा उपस्थित गराएर प्रस्ताव पारित गराउन सहयोगी भूमिका खेल्ने देउवाको विश्वास छ। यस्तो अवस्थामा कांग्रेसलाई जसपा (१९) र लोसपा(१३)ले साथ दिँदा एमसिसी पास हुने देखिन्छ।
२७१ सदस्यीय संसद्मा माओवादीका ४९ र एकीकृत समाजवादीको २३ तथा जनमोर्चा, नेमकिपा, राप्रपा र स्वतन्त्र एकएक सांसद छन्। चार सांसद निलम्बित छन्। उनीहरूले मतदानको अधिकार राख्दैनन्।
गठबन्धनलाई सुरक्षित गर्दै सत्तारुढ दलहरूले एमसिसीलाई अब संसद् प्रवेश गराउने गृहकार्य थालेका छन्। संसद्को बुधबार बस्ने वा त्यसलगत्तैका अरू बैठकमा एमसिसी प्रवेश गराउने भन्ने सहमति भने भइसकेको छैन।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको उपेन्द्र यादव समूह सम्झौता संशोधनको पक्षमा देखिएका छन् भने राष्ट्रिय जनमोर्चा एमसीसी खारेज हुनुपर्ने पक्षमा छ। नयाँपत्रिका दैनिकमा समाचार छ।