डडेल्धुराका नवनिर्वाचित पाँच गाउँपालिका अध्यक्ष तथा दुइ नगरपालिका मेयर सहित सातवटै पालिका प्रमुखहरुले शपथ लिएका छन्। बिहिबार जिल्लाको सदरमुकाम स्थित जिल्ला अदालतको प्राङगणमा जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, अजयमेरुका अध्यक्ष उमेशप्रसाद भट्ट, गन्यापधुराका अध्यक्षका इन्द्रबहादुर कार्की, नवदुर्गाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी र भागेश्वर गाउँपालिकाकाका अध्यक्ष हेमराज चटौतले सपथ लिएका हुन।
निर्वाचन परिणाम आएको सात दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ। उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुखसमक्ष शपथ लिनुपर्ने कानुनि ब्यबस्था छ।
डडेल्धुराका दुई नगरपालिका र तीन गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकोको छ भने दुई गाउँपालिकामा नेकपा माओवादि केन्द्र बिजयी भएको छ। नेकपा एमालेले भने कुनै स्थानिय तहमा जित हासिल गर्न सकेन।अजयमेरु गाउँपालिका प्रमुख २०७४ को स्थानीय निर्वाचनमा पनि बिजयी भइ २०७९ मा पुनः निर्वाचित भएका हुन। अजयमेरु गाउँपालिका यस अघि कार्यसम्पादन मुल्यांकनमा देशकै उत्कृष्ट भैसकेको हो भने अन्य पालिका प्रमुख भने नयाँ अनुहार हुन।
डडेल्धुरामा जिल्लामा ५२ मध्ये २९ वडामा कांग्रेस विजयी भएको छ भने माओवादी केन्द्रले १४, एमालेले तीन, नेकपा एकीकृत समाजवादीले दुई, बीपी कांग्रेसले दुई र स्वतन्त्रले दुई वडा जितेका छन्।