नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक मंगलबार र बुधबार स्थगन भएपछि बिहीबार बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन् ।
साथै अध्यक्ष प्रचण्डले पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समिति सदस्य चयनको ठोस प्रस्ताव ल्याउने तयारी छ । पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सोको जिम्मा अध्यक्षलाई दिएको छ ।
माओवादीको आठौं महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ । तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन् ।
पार्टीको महत्वपूर्ण जिम्मेवारी मानिने महासचिवका आकांक्षी धेरै छन् । जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, पम्फा भुसाल, देव गुरुङ महासचिवका आकांक्षीका रुपमा हेरिएको छ । तर, शर्मा र पुन मुख्य दाबेदार हुन् । उनीहरुबीच सहमति नभएको खण्डमा भने अन्य आकांक्षीले पाउने बताइएको छ ।